श्रीलंका फर्किए प्रशिक्षक व्हाटमोर, लंका प्रिमियर लिगमा प्रशिक्षण गर्न सक्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोर श्रीलंका फर्किएका छन्।

नेपालले स्पेनमा खेल्ने भनिएको विश्व कप लिग-२ अन्तर्गतको स्कटल्याण्ड र नामिबियासंगको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि व्हाटमोर जेठको अन्तिममा नेपाल आइपुगेका थिए। सिरिजको लागि नेपालले बन्द प्रशिक्षण सुरु गरेलगत्तै सिरिज रद्द भएको आईसीसीले घोषणा गरेपछि नेपाली राष्ट्रिय टिम योजनाविहिन भएको थियो। सिरिज रद्द भएपछि नेपाल क्रिकेट संघले बन्दप्रशिक्षण समेत स्थगित गरेको थियो जसपछि खेलाडीहरुको सानो समुहमा केहि दिन अभ्यास गरेता पनि संघसंग ठोस योजना नहुँदा व्हाटमोर पुनः श्रीलंका फर्किएका हुन्।

श्रीलंकामा जन्मिएपछि सन् १९६२ मा अस्ट्रेलिया बसाइँसरेका र अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका व्हाटमोर केहि समय यता आफ्नो परिवारसंग श्रीलंकामा बस्दै आएका छन्। उनि बुधबारनै श्रीलंका पुगीसकेका छन्।

श्रीलंकामा जुलाई ३० तारिख देखि अगस्ट २२ तारिखसम्म आयोजना हुने लंका प्रिमियर लिगको कुनै टिममा व्हाटमोरले प्रशिक्षण गर्नसक्ने बताईएको छ। लिगमा सहभागी ५ वटा टिम मध्ये २ वटा टिमले ६७ वर्षीय व्हाटमोरलाई अनुवन्ध गर्न चाहेको श्रीलंकाको डेली मिररले दावी गरेको छ। त्यसमध्ये एउटा टिमसंग सम्झौता हुने पक्कापक्की जस्तो भएको बताईएको छ।

व्हाटमोर गत वर्ष पनि लंका प्रिमियर लिगको टिम कोलोम्बो किंग्समा प्रशिक्षणको रुपमा अनुबन्धित भएका थिए। तर उनले पछि व्यक्तिगत कारण देखाउदै आफ्नो नाम फिर्ता लिएका थिए। उनको स्थान पूर्व इंग्ल्यान्ड क्रिकेटर समेत रहेका कबिर अलिले लिएका थिए।

विश्वकप लिग-२ अन्तर्गत नेपालले आगामी खेल सन् २०२२ फेब्रुअरीमा युएई र पपुवा न्युगिनीसंग खेल्ने तालिका रहेको छ। प्रशिक्षक व्हाटमोरसंग नेपालले मात्र एक वर्षको अनुवन्ध गरेको हुँदा अनुवन्ध अवधिमा नेपालले महत्वपूर्ण प्रतियोगितानै खेल्न नपाउने स्थिति रहेको छ। व्हाटमोर गत वर्ष पुषमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

व्हाटमोरको नियुक्ति पछि नेपालले एउटा मात्र प्रतियोगिताको रुपमा वैशाखमा नेदरल्याण्ड र मलेसियासंग त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो जसमा नेपाल विजयी भएको थियो। कोरोना महामारीका कारण प्रतियोगितानै आयोजना हुन नसक्दा व्हाटमोरको कार्यकालको अधिकांश समय नेपाली क्रिकेट टिम प्रतियोगिताविहिन रहने सम्भावना देखिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy