प्रशिक्षक व्हाटमोर नेपाल आईपुगे, यस्तो छ क्यानको तयारी योजना

नेपालमा २ महिना अघि सम्पन्न त्रिकोणात्मक टि-ट्वान्टी सिरिज पछि श्रीलंका पुगेका प्रशिक्षक डेभ व्हाटमोर सोमबार बिहान नेपाल आईपुगेका छन्। उनि आफ्नो श्रीमतीको साथ अस्ट्रेलिया पछिको आफ्नो दोश्रो घर श्रीलंकामा रहेका थिए।

आईसीसी विश्व कप लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासंग आगामी महिने हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तयारीको लागि व्हाटमोर नेपाल फर्केका हुन्। उनि कोरोना परिक्षण पछि तयारीमा सामेल हुनेछन्।

हालसम्म आईसीसी र नेपाल क्रिकेट संघले ( क्यान ) अधिकारिक घोषणा नगरेता पनि विश्वकप लिग-२ अन्तर्गतको आगामी सिरिज जुलाई २० वा २२ तारिख देखि स्पेनमा सुरु हुने भित्रि जानकारी रहेको छ। त्यसै अनुरुपको तयारी क्यानले गरिरहेको छ।

स्कटल्याण्डको घरेलु मैदानमा आयोजना हुनु पर्ने सिरिज स्कटल्याण्डले कोरोनाका कारण गर्न असमर्थता जनाएपछि स्पेनमा आयोजना हुन लागेको हो। स्पेनमा नवनिर्मित एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त डेजर्ट स्प्रिंग्स क्रिकेट ग्राउण्डमा खेलहरु आयोजना हुनसक्नेछ। डेजर्ट स्प्रिंग्स रिसोर्टमै मैदान पनि रहेकोले खेलहरु आयोजना गर्न सहज हुनेछ।

क्यानको यस्तो छ तयारी 

क्यानले पहिलो चरणको अभ्यासको लागि बढीमा २४ जना खेलाडीलाई पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाउने छ जसबाट १५ सदस्यीय टोलिको चयन गरिनेछ। क्यानले बन्द प्रशिक्षण सुरु नगरेता पनि काठमाडौँमा भएका खेलाडीहरुले टियु मैदानमा अभ्यास भने सुरु गरिसकेका छन्।

क्यान श्रोतले विकेटनेपाललाई जानकारी गराए अनुसार प्रशिक्षक व्हाटमोरले बन्द प्रशिक्षणको लागि खेलाडीहरु छनोट गरेर क्यानलाई बुझाइसकेका छन्। क्यान छनोट समितिले १-२ दिनमै टिमको घोषणा गर्ने उनले जानकारी गराएका छन्।

स्पेनको डेजर्ट स्प्रिंग्स क्रिकेट मैदान जहाँ त्रिकोणात्मक सिरिज आयोजना हुने सम्भावना रहेको छ

नेपालमा वर्षायाम सुरु भैसकेको हुँदा स्वदेशमै आउटडोर अभ्यास गर्न मुस्किल हुने हुँदा क्यान विदेशमा अभ्यास गर्ने प्रयास गरिरहेको छ। नेपालले बिभिन्न देशमा अभ्यास गर्न पहल गरेता पनि अहिलेसम्म कुनै देशको टुंगो भने लाग्न सकेको छैन। नेदरल्याण्डसंग अभ्यास खेल खेल्ने प्रयास असफल भएको जानकारी प्राप्त भएको छ। नेपाललेनै अभ्यासको सम्पूर्ण खर्च बेहोर्नुपर्ने हुँदा त्यो योजना असफल भएको हो। युरोपको राष्ट्रहरुमा अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने हुँदा पनि अफ्टेरो भएको हो। बंगलादेशमा तथा मिडल इस्टको राष्ट्रसंग समेत अभ्यास भ्रमण गर्न पहल गरेको बुझिएको छ।

अन्य देशमा अभ्यास सम्भव नभए क्यानले स्पेनमा चाडै पुगेर अभ्यास गर्ने बिकल्प रहनेछ। त्यसको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यानको चाडै स्पेन पुगेर अभ्यास गर्ने प्रस्तावलाई स्वीकार गर्नुपर्नेछ। खर्चको हिसाबले युरोपमा प्रतियोगिता आयोजना गर्दा आईसीसीलाई खर्चभार निकै बढी हुने गर्छ त्यसैले प्रतियोगिता अघि लामो समय स्पेनमै अभ्यास गर्ने क्यानको प्रस्तावमा आईसीसीको जवाफको प्रतीक्षा गर्नुपर्नेछ। स्पेनमा चाडो पुग्न सम्भव नभए क्यानले टियु मैदानमै तयारी गर्नुपर्नेछ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत पहिलो र अन्तिम सिरिज गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंग खेलेको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो। विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।

विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसी विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने विश्व कप सुपर लिगमा समेत छनोट हुनेछ। शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy