T20WC : वेस्टइन्डिजको विश्वकप इतिहासकै लज्जास्पद ब्याटिंग, रशिदको घातक बलिंग

२०७८ कार्तिक ६, शनिबार २१:०७

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको दोश्रो खेलमा इंग्ल्यान्डसंग प्रतिस्पर्धा गरिरहेको डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजले आफ्नो टि-ट्वान्टी विश्वकप इतिहासकै लज्जास्पद ब्याटिंग गरेको छ।

युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले १४.२ ओभरमा ५५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। यो योगफल वेस्टइन्डिजको टि-२० विश्वकप इतिहासकै सबैभन्दा कम योगफल हो भने समग्रमा टि-२० विश्वकप इतिहासकै तेश्रो कम योगफल हो। यस्तै वेस्टइन्डिजको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासको यो दोश्रो कम योगफल हो। वेस्टइन्डिजले सबैभन्दा कम २०१९ मा इंग्ल्यान्ड बिरुद्धनै वेस्टइन्डिजले ४५ रन बनाएको थियो। टि-२० विश्वकपमा यो भन्दा थोरै नेदरल्याण्डले २०१४ मा ३९ तथा जारी विश्वकपमा श्रीलंका बिरुद्ध ४४ रन बनाएको थियो। वेस्टइन्डिज विश्वकपमा हालसम्म एक सय भन्दा कम योगफलमा समेटिएको यो पहिलो पटक हो।

वेस्टइन्डिजको लागि क्रिस गेलले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। गेल र हेटमार बीच तेश्रो विकेटको १८ रनको साझेदारी इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।

इंग्ल्यान्डको बलिंगमा आदील रशिदले सर्वाधिक ४ विकेट लिए जुन क्रममा २.२ ओभरमा मात्र २ रन खर्चिए। यस्तै टाईमल मिल्स ( ४-०-१७-२ ) र  मोईन अलिले ( ४-१-१७-२ ) समान दुई विकेट तथा क्रिस वोक्स ( २-०-१२-१ ) र क्रिस जोर्डनले ( २-०-७-१ ) समान एक विकेट लिए।

सुपर-१२ चरण अन्तर्गत आज सम्पन्न पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गर्यो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy