रसेल, म्याकोय र वाल्स चम्किंदा वेस्टइन्डिजद्वारा अस्ट्रेलिया पराजित

अस्ट्रेलियाको वेस्टइन्डिज भ्रमण अन्तर्गत पाँचवटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोलि वेस्टइन्डिज १८ रनले विजयी हुँदै सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

डेरेन स्यामी स्टेडियम, सेन्ट लुसियामा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १६ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो।

अस्ट्रेलियाको लागि मिचेल मार्शले सर्वाधिक ५१ रन बनाए जुन क्रममा ३१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। म्याथु वेडले ३३, मोईसेस हेनरिकेसले १६ तथा ड्यानियल क्रिस्चियनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

ओपनर आरोन फिंच ४ रन बनाएर आउट भएपछि वेड र मार्शले दोश्रो विकेटको लागि ३८ रनको साझेदारी गरे। चौथो विकेटको लागि मार्शले हेनरिकेससंग ३६ रन जोडे। मार्शलाई १३ औं ओभरमा हेडन वाल्सले आफैद्वारा क्याच आउट गराए।

१०८/४ को अवस्थामा रहेको अस्ट्रेलियाले थप १९ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो। हेडन वाल्स र ओबेड म्याकोयले लगातार किफायती बलिंग गर्दै विकेट लिंदै अस्ट्रेलियाको जित खोसे।

वाल्सले १३ औं ओभरमा ४ रन खर्चेर १ विकेट तथा १५ औं ओभरमा ३ रन खर्चेर १ विकेट लिए भने म्याकोयले १४ औं ओभरमा ४ रन खर्चेर १ विकेट तथा १६ औं ओभरमा १ रन खर्चेर २ विकेट लिंदै अस्ट्रेलियाको इनिंग्स समाप्त पारे।

प्लेयर अफ द म्याच चुनिएका देब्रे हाते पेसर म्याकोयले ४ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै २६ रन खर्चिए। यस्तै हेडन वाल्सले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। फाबियन एलेनले २ तथा आन्द्रे रसेलले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ६ विकेट क्षेतीमा १४५ रन बनाएको थियो।

वेस्टइन्डिजको ब्याटिंगमा आन्द्रे रसेलले मात्र २८ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए। टि-२० अन्तर्राष्ट्रियमा रसेलको यो पहिलो अर्धशतक हो। यस्तै लेन्डल सिमोन्सले २७, शिमरन हेटमायरले २० तथा निकोलस पुरनले १७ रन बनाए।


खराब सुरुवात गरेको वेस्टइन्डिजले ३५ रनमा ३ विकेट गुमाएको थियो। त्यसपछि हेटमायर र पुरनले चौथो विकेटको लागि ३० रन जोडे। पुरनको विकेटपछि रसेलले हेटमायर र फाबीयन एलेनसंग समान ३६ रनको साझेदारी गरे। रसेललाई अन्तिम ओभरमा हेजलवुडले बोल्ड गरेका थिए।

अस्ट्रेलियाको बलिंगमा जोश हेजलवुडले सर्वाधिक ३ विकेट लिंदा ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १२ रन खर्चिए। मिचेल मार्शले २ विकेट ( ४-०-२६-२ ) लिए।

सिरिज अन्तर्गत दोश्रो खेल जुलाई १० तारिखमा खेलिनेछ भने जुलाई १२, १४ र १६ तारिखमा तेश्रो, चौथो र पाँचौ खेल हुनेछ। त्यसपछि दुई देशले जुलाई २० तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy