भारत र वेस्ट इन्डिजको जित, सकियो विश्वकप अभ्यास खेलहरु

२०७६ जेष्ठ १५, बुधबार ०७:३६

मे ३० बाट इंग्ल्याण्डमा सुरु हुने एकदिवसीय विश्वकप अघिको सम्पूर्ण अभ्यास खेलहरु सकिएका छन्। मंगलबार राति भएका अन्तिम २ खेलमा भारतले बंगलादेशलाई तथा वेस्ट इन्डिजले न्युजिल्याण्डलाई पराजित गर्यो।

भारतको जितमा राहुल र धोनीको शतक, चाहल र कुलदिप चम्किए 

कार्डिफमा सम्पन्न खेलमा भारतले दिएको ३६० रनको लक्ष्य पछ्याएको बंगलादेशले २६४ रन मात्र बनाऊन सकेपछि ९५ रनको हार बेहोर्यो।

लक्ष्य पछ्याउने क्रममा मुस्फिकर रहिमले ९० तथा लिटन दासले ७३ रन बनाए पनि अन्य ब्याट्सम्यानले ठुलो स्कोर गर्न नसक्दा बंगलादेश लक्ष्यसम्म पुग्न सकेन।

भारतीय रिस्ट स्पिनर कुलदिप यादब ३ ( १०-०-४७-३ ) र युज्भेन्द्र चाहल ( १०-०-५५-३ ) ले ३/३ विकेट लिए। जस्प्रित बुम्राह ( ५-०-२५-२ ) ले २ र रभिन्द्र जडेजा ( ९.३-०-४०-१ ) ले १ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा भारतको लागि केएल राहुल र महेन्द्र सिंह धोनीले शतकीय इनिंग खेलेका थिए। राहुल र धोनीले पाँचौ विकेटको लागि १६४ रनको ठुलो साझेदारी समेत गरेका थिए। राहुलले १०८ ( ९९ बलमा १२ चौका र ४ छक्का ) तथा धोनीले ११३ ( ७८ बलमा ८ चौका र ७ छक्का ) रन बनाए।

बंगलादेशको लागि रुबेल हुसेन ( ८-०-६२-२ ) र शाकिब अल हसन ( ६-०-५८-२ ) ले २/२ विकेट लिए।

भारतले यस अघि पहिलो अभ्यास खेलमा न्युजिल्याण्डसंग ६ विकेटको पराजय बेहोरेको थियो भने बंगलादेश र पाकिस्तान बीचको अभ्यास खेल वर्षले रद्द भएको थियो। विश्वकप अन्तर्गत भारतले आफ्नो पहिलो खेल दक्षिण अफ्रीकासंग जुन ५ तारिकमा र बंगलादेशले पहिलो खेल दक्षिण अफ्रीकासंगनै जुन २ तारिकमा खेल्नेछ।

न्युजिल्याण्ड बिरुद्ध वेस्टइन्डिज विजयी 

ब्रिस्टोलमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको वेस्ट इन्डिजले दिएको ४२२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले ३३० रन बनाउन सक्यो र ९१ रनको हार बेहोर्यो।

न्युजिल्याण्ड ब्याट्सम्यान टम ब्लनडेलले शतक ( १०६ रन, ८९ बलमा ८ चौ. ६ छ. ) तथा कप्तान केन विलीयमसनले ८५ रन बनाए पनि जितसम्म पुग्न सकेन।

वेस्ट इन्डिज बलर कार्लोस ब्राथवेटले ( ९-०-७५-३ ) ३ तथा फाबियन एलेनले ( ६.२-०-४७-२ ) ले २ विकेट लिए।

यस अघि न्युजिल्याण्डले आफ्नो पहिलो अभ्यास खेलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो भने वेस्ट इन्डिज र दक्षिण अफ्रीका बीचको अभ्यास खेल वर्षाको कारण रद्द भएको थियो। विश्वकप अन्तर्गत न्युजिल्याण्डले श्रीलंकासंग जुन १ मा तथा वेस्ट इन्डिजले पाकिस्तानसंग मे ३१ मा पहिलो खेल खेल्नेछ।

विश्वकपको पहिलो खेल मे ३० तारिकमा इंग्ल्याण्ड र दक्षिण अफ्रीका बीच खेलिनेछ।

विश्वकपको यस अघि भएका अभ्यास खेलहरुको नतिजा 

१. अफगानिस्तानद्वारा पाकिस्तान ३ विकेटले पराजित
२. दक्षिणअफ्रीकाद्वारा श्रीलंका ८७ रनले पराजित
३. अस्ट्रेलियाद्वारा इंग्ल्याण्ड १२ रनले पराजित
४. न्युजिल्याण्डद्वारा भारत ६ विकेटले पराजित
५. दक्षिण अफ्रीका-वेस्ट इन्डिज बीचको खेल वर्षाले रद्द
६. पाकिस्तान – बंगलादेश बीचको खेल वर्षाले रद्द
७. इंग्ल्याण्डद्वारा अफगानिस्तान ९ विकेटले पराजित
८. अस्ट्रेलियाद्वारा श्रीलंका ५ विकेटले पराजित

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy