होपको शतक, रसेल र होल्डरको आक्रामक इनिंग, वेस्ट इन्डिजको विशाल योगफल

२०७६ जेष्ठ १४, मंगलवार १९:३१

एकदिवसीय विश्वकप सुरु हुनु अघि अन्तिम दिनको अभ्यास खेल अन्तर्गत वेस्ट इन्डिज र न्युजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्।

काउन्ट्रि ग्राउन्ड ब्रिस्टलमा टस हारेर ब्याटिंग गरेको वेस्ट इन्डिजले ४९.२ ओभरमा सबै विकेट गुमाएर ४२१ रनको विशाल योगफल तयार गरेको छ।

कुनै पनि अधिकारिक खेलमा वेस्ट इन्डिजले बनाएको सबैभन्दा ठुलो योगफल ३८९ हो जुन यसै वर्ष फेब्रुअरीमा उसले इंग्ल्याण्डसबिरुद्ध बनाएको थियो। आज बनाएको ४२१ रन सर्वाधिक भए पनि अधिकारिक रेकर्डमा भने जोडिनेछैन।

वेस्ट इन्डिज ओपनर क्रिस गेल र इभिन लुइसले ५९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। गेल ३६ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि लुइस र शाही होपले ८४ रनको साझेदारी गरे। ५० रन बनाएर लुइस आउट भए। त्यसपछि डेरेन ब्राभो २५ र शिम्रन हेटमेयर २७ रन बनाए।

एक किनार सम्हाल्ने क्रमअ होपले शतक पुरा गरे। ८६ बलमा ९ चौका र ४ छक्का मदतले १०१ रन बनाएर होप आउट भए।

होपको विकेटपछि तल्लो क्रममा कप्तान जेसन होल्डर र आन्द्रे रसेलले विस्फोटक इनिंग खेले। होल्डरले ३२ बलमा ३ छक्का र ३ चौका मदतले ३२ बलमा ४७ रन बनाए। उता रसेलले २५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

कार्लोस ब्राथवेटले २४ र एसले नर्सले अविजित २१ रन बनाए ।

न्युजिल्याण्डको लागि ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट ( ९.२-१-५०-४ ) लिए भने म्याट हेनरी ( ९-०-१०-७-२ ) ले २ विकेट लिए। जेम्स निशाम ( ५-०-४२-१ ) र मिचेल स्यानटनरले ( ९-१-७१-१ ) ले १/१ विकेट लिए।

यस अघि न्युजिल्याण्डले आफ्नो पहिलो अभ्यास खेलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो भने वेस्ट इन्डिज र दक्षिण अफ्रीका बीचको अभ्यास खेल वर्षाको कारण रद्द भएको थियो। विश्वकप अन्तर्गत न्युजिल्याण्डले श्रीलंकासंग जुन १ मा तथा वेस्ट इन्डिजले पाकिस्तानसंग मे ३१ मा पहिलो खेल खेल्नेछ। विश्वकपको पहिलो खेल मे ३० तारिकमा इंग्ल्याण्ड र दक्षिण अफ्रीका बीच खेलिनेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy