वेस्टइन्डिजको ब्याटिंग समस्या निरन्तर, लगातार शतक बनाउन चुके डीकक

२०७८ असार ६, आईतवार ०८:१३

कमजोर ब्याटिंगका कारण पहिलो टेस्ट इनिंग्स अन्तरले हारेको वेस्टइन्डिजले दोश्रो टेस्टमा पनि उही समस्या दोहोर्याएको छ।

दक्षिण अफ्रीका बिरुद्ध घरेलु मैदान सेन्ट लुसियामा जारी दोश्रो टेस्टको पहिलो इनिंग्समा वेस्ट इन्डिज १४९ रनमा सिमित हुन पुगेको हो।

दक्षिण अफ्रीकाले पहिलो इनिंग्समा २९८ रन बनाएपछि दोश्रो दिन ब्याटिंग सुरु गरेको वेस्टइन्डिजले ५४ ओभर मात्र ब्याटिंग गर्न सक्यो। पहिलो इनिंग्समा दक्षिण अफ्रीकाले १४९ रनको अग्रता पाएको छ जसले तेश्रो दिन दोश्रो इनिंग्सको सुरुवात गर्नेछ।

वेस्टइन्डिजको लागि जर्माइन ब्ल्याकवुडले सर्वाधिक ४९ तथा शाई होपले ४३ रन योगदान दिए। ५४ रनमा ५ विकेट गुमाएको अवस्थामा होपले ब्ल्याकवुडसंग गरेको ४३ रनको साझेदारी इनिंग्सकै सर्वाधिक साझेदारी रह्यो।

दक्षिण अफ्रीकाको बलिंगमा वियान मल्डरले सर्वाधिक ३ विकेट ( ४-३-१-३ ) लिए। यस्तै कागीसो रबाडा ( १३-६-२४-२ ) , लुंगी एन गिड़ी ( ७-०-२७-२ ) र केशव महाराज ( १८-२-४७-२ ) ले समान २ विकेट तथा एनरिक नोर्किया ( १२-०-४१-१ ) ले १ विकेट लिए।

डीकक लगातार दोश्रो शतक बनाउने थोरैले चुके

यस अघि पहिलो दिनको समाप्तिमा २१८/५ को अवस्थाबाट दोश्रो दिन ब्याटिंग सुरु गरेको दक्षिण अफ्रीकाले थप ८० रन योगफलमा जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

पहिलो दिन समाप्तिमा ५९ रनमा अविजित रहेका क्विन्टन डीकक दोश्रो दिन सातौँ टेस्ट शतक तथा लगातर दोश्रो शतक बनाउन ४ रनले चुक्न पुगे। १६२ बलमा ८ चौका मद्दतले ९६ रन बनाएका उनलाई कायल मेयर्सले शाई होपबाट क्याच आउट गराए। अघिल्लो टेस्टमा डीककले अविजित १४१ रन बनाएका थिए। कागीसो रबाडाले अविजित २१ रन बनाए। पहिलो दिन कप्तान डीन एल्गर ७७ रन बनाएर आउट भएका थिए।

वेस्टइन्डिजको बलिंगमा दायाँ हाते पेसरद्वय कायल मेयर्स ( १५-६-२८-३ ) र कमार रोच ( २१.४-६-४५-३ ) ले समान ३ विकेट लिए। शानोन ग्याब्रीयलले २ विकेट लिंदा जेडन सिलस र जेसन होल्डरले समान १ विकेट लिए।

दुई टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा भ्रमण टोलि दक्षिण अफ्रीका इनिंग्स र ६३ रनले विजयी भएको थियो। टेस्ट सिरिज पछि दुई देश बीच पाँचवटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy