क्यानडामाथि नेदरल्यान्ड्सको जित

२०८१ श्रावण २७, आईतवार २२:२२

काठमाडौं । नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा क्यानडामाथि जित हात पारेको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा आज (आइतबार) बाट सुरु अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिज सुरु भएको हो ।

आइतबार नेदरल्यान्ड्सको स्पोर्टस पार्क डुइवेस्टिन, वूरबर्गमा भएको खेलमा घरेलु टोलीले ५ विकेटको जित हात पारेको हो ।

क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य घरेलु टोलीले ४५.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले अविजित रहँदै सर्वाधिक ७९ रन जोडे । उनले १ सय १९ बलमा ८ चौका प्रहार गरे । माइकल लेभिटले ५० बलमा ४५ रन जोड्दा विक्रमजित सिंहले ५० बलमा २९ रन बनाए । शरिज अहमद ८ रनमा अविजित रहे ।

क्यानडाका लागि साद विन जाफरले ३ तथा जेरेमी गोर्डन र डिलोन हेलिङ्गरले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ४८.४ ओभरमा अल आउट हुदै १ सय ९४ रन बनाएको थियो ।

क्यानडाका लागि विकेटकिपर श्रेयस मोभ्भाले सर्वाधिक ६५ रन जोडेका थिए । उनले ९० बलमा ६ चौका प्रहार गरेका थिए । हर्ष ठाकरले ३५, साद विन जाफरले २२, दिलप्रित बाज्वाले २५ रन जोडेका थिए ।

नेदरल्यान्ड्सका लागि काइल क्लेनले ४, पल भान मेकरमले ३ तथा भिभियन किंग्मा, आर्यन दत्त र माईकल लेभिटले समान १ विकेट लिए ।

जितसँगै ८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ६ अंकका साथ चौथो स्थानमा कायमै रहेको छ । पराजित क्यानडा ८ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

अंकतालिकामा २ अंकका साथ नेपाल छैटौं स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy