काठमाडौं । विश्वकप लिग टु युएईले छैटौं हार व्यहोरेको छ । सातौं खेलमा छैटौं हार व्यहोर्ने क्रममा युएई नामिबीयासँग पराजित भएको हो । १२औं खेलमा पाँचौ जित हात पार्ने क्रममा नामिबियाले युएईलाई बिहीवार ८ विकेटले पराजित गरेको हो ।
वेन्डुरस क्रिकेट मैदानमा युएईले दिएको १ सय ९१ रनको लक्ष्य नामिबियाले २८ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
नामिबियाको जितमा मिचेल भान लिगेंन र कप्तान ग्रेहार्ड इरास्मसले अर्धशतक बनाए । लिगेंनले ४३ बलमा १२ चौका र २ छक्काको सहयोगमा ६७ रन जोडे । कप्तान इरास्मसले ४६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा नट आउट ५९ रन बनाए ।
जेपी कोट्जेले ६३ बलमा ४० तथा जान ग्रीनले २१ बलमा नट आउट २१ रन जोडे ।
युएईका लागि विष्नु सुकुमार र बासिल हमिदले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ४३ दशमलब २ ओभरमा अल आउट हुदै १ सय ९० रन बनाएको थियो ।
युएईका लागि अलि नासिरले ६२ बलमा ६१ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । अलिशान सरफुले २६ बलमा ३१, विष्नु सुकुमारनले ४३ बलमा ३०, आसिफ खानले ६२ बलमा २६ तथा बासिल हमिदले १५ बलमा १३ रनको योगदान गरेका थिए ।
नामिबियाका लागि जेजे स्मिटले ३, टान्जेनी लुंगामेनी र बर्नार्ड शोल्ट्ज समान २ तथा बेन सिकागो, शान फुचे र कप्तान ग्रेहार्ड इरास्मसले समान १ विकेट लिए ।
जितपछि १२ खेलमा ९ अंकका साथ नामिबिया चौथो स्थानमा छ । पराजित युएई ७ खेलमा २ अंकका साथ तालिकाको पुछारमा छ । क्यानडा ११ खेलमा १४ अंक सहित शीर्ष स्थानमा छ । नेपाल भने आठ खेलमा ३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
आठ टोली सहभागी लिग टुमा हरेक टोली २०२७ सम्ममा ३६ ओडिआई खेल खेल्नेछन् । अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले २०२७ मा हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउँने छन् । बाँकी चार टोलीले भने विश्वकप छनोटमा स्थान बनाउँन प्लेअफ खेल्नु पर्ने हुन्छ ।