महिला टिमको कमजोर प्रदर्शन पछाडीको ५ कारण

टेस्ट रास्ट्रहरु सहभागी एसीसी महिला टि-२० एसिया कपमा नेपाली टिमले चमत्कारिक प्रदर्शन गर्ने आशा सायदै गरिएको थियो तर यो हदसम्मको दुर्दशाको पनि कल्पना थिएन l गत महिना हंगकंगमा सम्पन्न बिश्वकप छनौट प्रतियोगिता ( एसिया क्षेत्र ) मा दोश्रो स्थान हातपारेको नेपाली टिमले यति चाडै त्यो प्रदर्शन बिर्साउने काम गर्दा धेरै प्रश्नहरु उठेका छन् l

नेपाली टिमले थाईल्याण्डमा गरेको कमजोर प्रदर्शनको विश्लेषण गर्न नेपाली टिमले बनाएको इतिहासकै कम टिम योगफल तथा प्रतियोगिताको ५ खेलमा मात्र ३ जना खेलाडीले मात्र दुई अंकमा रन बनाएको तथ्य पर्याप्त छ l भारतसंग इतिहासकै कुल टिम योगफल २१ तथा श्रीलंकासंग २३ रनमा समेटिएको नेपालको लागि ज्योति पाण्डेले बनाएको १६ रननै सर्बाधिक व्यक्तिगत स्कोर बन्नुले प्रतियोगितामा नेपाली महिला क्रिकेट टिमको स्थितिको वर्णन गर्छ l

कमजोर प्रदर्शनपछि नेपाली महिला टिम आलोचनाको बिषय बन्दै गर्दा पर्दा पछाडीको वास्तविकता सबैले बुझ्नु जरुरि छ l निम्न बुंदाहरुमा ति कारणहरुलाई समेटेको छु l

 

  • १, प्रशिक्षक विवाद 

हंगकंग बिश्वकप छनौट-एसिया खेल्ने क्रममा प्रशिक्षक राजु बस्नेतले खेलाडीहरु माथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि थाईल्याण्ड जानु अघि प्रशिक्षक बस्नेत र नेपाली टिमनै विवादमा मुछिए l नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट तथा सोसल मिडियामा प्रशिक्षक बस्नेतबारे उक्त समाचार आएपछि महिला टिमको लय बिग्रियो l बस्नेतले आफु निर्दोष रहेको बताउदै पत्रकार सम्मेलन गरे जसमा कप्तान रुबिना सहित अन्य खेलाडीहरुले पनि साथ दिए l  ( पढ्नुस-  यौन दुर्व्यवहारको आरोप बारे यसो भन्छन् प्रशिक्षक बस्नेत ) 

समग्रमा हेर्दा यो घटनाको ल्यान्डिङ सुरक्षित देखिएपनि भित्रिरुपमा ठुलै भूकम्प ल्यायो l टिम थाईल्याण्ड जाने अन्तिम सम्ममा पनि प्रशिक्षकको टुंगो भएन भने अर्कोतिर घटनाले प्रशिक्षण पनि बिथोलियो l यस्तो अवस्थाले न प्रशिक्षक न खेलाडीहरु मानसिक रुपमा ठुलो प्रतियोगिताको लागि तयार हुनसके l खेलमा भन्दा विवादमा ध्यान जाँदा महिला टिम लथालिंग बन्यो l

  • २, प्रशिक्षण अबधि 

एसिया कप छनौट भएपछि नेपाली टिमले प्रतियोगिताको लागि मुस्किलले २ हफ्ता समय पायो l यति ठुलो प्रतियोगिताको लागि मात्र २ हफ्ता प्रशिक्षण अपर्याप्त थियो l त्यो समयमा पनि प्रशिक्षक विवादले गर्दा प्रशिक्षणलाई ठुलो असर गर्यो l बर्षभरि प्रशिक्षण गर्ने टेस्ट रास्ट्रहरु संग प्रतिस्पर्धा गर्न यति छोटो अबधिको तयारीले राम्रो प्रदर्शन गर्ने अपेक्षा कम थियो l

  • ३,  खै खेल ? खै खेल अभ्यास ? 

नेपाल क्रिकेट संघ कारबाहीमा रहेको अवस्थामा पुरुष र महिला दुवै टिमको छनौट खेल हुनपाएको छैन l बिश्वकप छनौटको एसिया छनौटको लागि रास्ट्रिय खेलकुद परिषदले हिलाम्मे टियु मैदानमा गराएको प्रतियोगिताको स्तर निकै नाजुक थियो l डेढ बर्ष अघि मात्रै महिला टिमले रास्ट्रिय प्रतियोगिता खेल्न पाएको थियो l रास्ट्रिय प्रतियोगिता बाहेक अन्य प्रतियोगिता नगन्य जस्तै हुने अवस्थामा खेलाडीहरुको स्तर बढ्ने, नयाँ खेलाडी उत्पादन हुन निकै मुस्किल छ l त्यो बाहेक नत महिला क्रिकेटरहरुलाई खेलमा लाग्न प्रोत्साहन छ नत सुबिधा l विभागीय टोलि एपीएफ नहुदो हो त महिला क्रिकेट मरणासन्न अवस्थामा नरहला भन्न सकिन्न l

img_5800

त्यो बाहेक पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानु अघि कम्तिमा पनि मैत्रीपूर्ण अभ्यास खेलहरु आयोजना पनि गरिदैन l सिक्न, स्तर सुधार गर्न खेल अभ्यास आवस्यक छ l नेपाली महिला टिमले एक्सपोजर अन्तर्राष्ट्रिय प्रतियोगितामानै सिमित हुँदा ठुलो प्रतियोगितामा लय पाउन पनि मुस्किल हुने गर्छ l हंगकंगमा खेल अभ्यासकै कमिले गर्दा पहिलो केहि खेल पछि मात्रै नेपालले राम्रो खेल्न सकेको थियो l

  • ४, निर्मला शाहीको अनुपस्थिति 

नेपाली टिममा पहिलो पटक स्थान बनाएकी निर्मला शाहीले आफुलाई अब्बल प्रमाणित गरिन् l हंगकंग बिश्वकप छनौट ( एसिया क्षेत्र ) मा अलराउण्ड प्रदर्शन गर्दै शाहीले कुल ९३ रन बनाउनुको साथै ८ विकेट पनि लिएकी थिईन l शाही प्रतियोगितामा नेपालको लागि दोश्रो सर्बाधिक रन बनाउने खेलाडी थिईन् जसको उपस्थितिले टोलिलाई मजबुत बनाएको थियो l शाही भारतीय यु-१९ र यु-२१ को अन्तिम २५ जनाको सुचिमा परेको खेलाडी समेत हुन् l

Nirmala Shahi
निर्मला शाही

भारतीय सेन्टर रेलवे टिमको जागिरे तथा खेलाडी शाही एसिया कप खेल्ने टोलिमा अनुपस्थित भईन् l उनि अनुपस्थित हुनुमा भारतमा खेल्ने क्रममा घाइते हुनु कारण देखाईयो l नेपाली टिम दोश्रो भएर एसिया कप खेल्न छनौट हुनुमा निर्मला शाहीको निकै ठुलो योगदान थियो जसको अनुपस्थितिले टोलिमा निकै ठुलो प्रभाब पार्यो l निर्मला उपस्थित भएको भए इतिहासकै कम स्कोरमा समेटिने स्थिति नआउन सक्थ्यो l

  • ५, प्रतियोगिताको स्तर     

नेपाली टिमले गरेको कमजोर प्रदर्शनको पछाडी प्रतियोगिताको स्तर पनि मुख्य कारण हो l भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्तो टेस्ट रास्ट्र भन्दा नेपालको स्तर तुलनानै गर्ने अवस्थामा छैन l टेस्ट रास्ट्रहरुसंग खेल्न पाउनुनै उपलब्धि भएको अवस्थामा नेपालले चुनौती दिनु निकै परको कुरा थियो l पहिलो पटक यति ठुलो रास्ट्रहरुसंग यति धेरै खेल खेल्न पाएको नेपाली महिला टिमलाई यो प्रतियोगिता पाठ सिक्ने र स्तर जाँच्ने अवस्था थियो l यति हुँदा हुँदै पनि यति लज्जास्पद प्रदर्शनको आशा भने गरिएको थिएन तर यति ठुलो रास्ट्र संग खेल्दा इतिहासकै कमजोर प्रदर्शन गर्नु पनि अस्चार्यजनक थिएन l

अन्त्यमा 

नेपाली टिमले नराम्रो खेल्नु एउटा पाटो हो तर नेपाली टिमले प्रतियोगितामा धेरै कुरा सिकेको कुरा अर्को पाटो l प्रतियोगिता खेल्न पाउनुले कुनै पनि टिमको क्षमता पहिचान गर्छ, कमजोरी र बलियो पक्ष थाहा हुन्छ, आफ्नो स्तर बुझिन्छ जसले आगामी दिनमा सुधार गर्नुपर्ने कुरा प्रस्ट हुन्छ l अहिलेनै नेपाली टिमले टेस्ट रास्ट्रहरुलाई पराजित गर्ने चाहना कसैको छैन तर टेस्ट रास्ट्र बाहेकको देशको आफ्नो अधिपत्य पुनः प्राप्त गर्न भने नेपाली टिम सक्षम छ l

२००७ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको महिला टिमले सिनियर र उमेर समुहमा सुरुवात देखि दबदबा कायम गरेको थियो जुन स्तर बीचमा आएर खस्किएको छ l पुनः महिला टिमले त्यही गुमको साख पाउन सम्बन्धित निकायले प्रोत्साहन गर्नु आवस्यक छ l प्रतियोगिता, प्रोत्साहन, एक्सपोजर पाउने हो भने महिला टिमसंग धेरै अघि बढ्ने क्षमता रहेको इतिहासले प्रमाणित गरीसकेको छ l

 

यो पनि पढ्नुस :-  

– भारतसंग हार्दा नेपालले राख्यो यस्तो रेकर्ड
– रुबिनालाई बिग ब्यासमा अवसर

 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy