काठमाडौं । क्यानडाले ओपनर ओरोन जोनसनको अर्धशतकको सहयोगमा वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा पाकिस्तानलाई जितका लागि १ सय ७ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको न्युयोर्कमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनायो ।
क्यानडाका लागि ओपनर जोनसनले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । कलिम सानाले १४ बलमा १३ तथा कप्तान साद विन जाफरले २१ बलमा १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
पाकिस्तानका लागि मोहम्मद अमिर र हरिस रउफले समान दुई दुई तथा शाहिन शाह अफ्रिदी र नसिम शाहले समान एक एक विकेट लिए ।
