काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार सम्मान गरेको छ।

काठमाडौँ बुढानिलकण्ठस्थित चुनिखेलमा रहेको ‘काठमाडौँ क्रिकेट एकेडेमी’ परिसरमा आयोजित कार्यक्रममा यादवलाई खादा ओढाई, केक काटी बधाई तथा सम्मान गरिएको हो। कार्यक्रममा एकेडेमीका निर्देशक जगत टमाटा र संचालक मदन कार्की र कुन्दन खड्काको प्रमुख उपस्थितिमा अभयको उपलब्धिको कदर गर्दै प्रशंसा गरिएको थियो।

सर्लाही, मधेश प्रदेश घर भई पछिल्लो चार महिनादेखि उक्त एकेडेमीमा नियमित प्रशिक्षणरत रहेका यादवले मलेसियामा आयोजित प्रतियोगिताको फाइनलमा सिंगापुरविरुद्ध ३ विकेट लिँदै प्लेयर अफ द म्याचको उपाधि हात पारेका थिए। त्यस्तै ब्याटिङमा पनि उनले अविजित १० रन जोडेका थिए। प्रतियोगिताभरि खेलेका ५ खेलमा उनले १० विकेट लिँदै नेपालको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। गत महिना सुर्खेतमा सम्पन्न टीबी शाह मेमोरियल यु-१६ प्रतियोगितामा पनि उनले ७ खेलमा १९ विकेट लिँदै उत्कृष्ट बलरको उपाधि जितेका थिए।

सोहि अवसरमा एकेडेमीका संचालक मदन कार्कीले यादवलाई आगामी दिनमा क्रिकेट प्रशिक्षणका लागि पूर्ण छात्रवृत्तिको घोषणा गरेका छन्। “अभयले देखाएको मेहनत, अनुशासन र लगावले आजको उपलब्धि सम्भव भएको हो। यस्ता प्रदर्शनबाट अन्य विद्यार्थीहरू पनि प्रेरित होउन् भन्ने हाम्रो अपेक्षा छ।” कार्कीले भने। 

एकेडेमीका निर्देशक जगत टमाटाले पनि अभयलाई मेहनती र लगनशील विद्यार्थीको रुपमा वर्णन गर्दै भने, “कुनै पनि विद्यार्थीले यदि निरन्तरता, मेहनत र समर्पणका साथ अगाडि बढ्यो भने, अभयले जस्तै सफलता पाउन सक्छ।”

सम्मानित भएपछि आफ्नो संक्षिप्त मन्तव्यमा अभय यादवले भने, “खेल्दा देशको भावना चाहिन्छ भन्ने कुरा प्रशिक्षक टमाटाले सधैं सिकाउनुहुन्थ्यो, मैले त्यो याद राखेर खेलेँ। मेहनत गरे सफलता पक्कै मिल्छ।”

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy