यस्तो हुन सक्छ हाम्रो घरेलु क्रिकेटको दीर्घकालीन संरचना

२०८० श्रावण १४, आईतवार १२:४९

  • ई. निर्मल बाबु अर्याल

क्रिकेटप्रेमीहरु घरेलु क्रिकेटको आवश्यकताको महत्वको बारेमा धेरै थोरै जानकार नै रहेकाले  पृष्ठभूमिमा धेरै चर्चा नगरौं । क्रिकेट तीन ढाँचामा खेलिने हुँदा घरेलु संरचना समेत सो अनुरुपको हुन आवश्यक छ । कस्तो बनाउने त नेपाली क्रिकेटको घरेलु संरचना भन्ने विषयमा धेरै छलफल भैरहँदा यस प्रस्ताव पनि सरोकारवाललाई एक आधार हुन सक्दछ। नेपाली क्रिकेटको आर्थिक र भौतिक सुविधाको अवस्थाको कारण सुरुका केहि बर्ष २ बर्षको एक सिजन हुने व्यवस्था गर्न सकिन्छ ।

५० ओवर

चर्चा ५० ओवरको क्रिकेट बाट सुरु गरौ ।घरेलु क्रिकेटमा अहिले विद्यमान १० टिमकै सहभागितामा प्रधानमन्त्री कप सुपर लिग सुरु गर्न सकिन्छ । यस लिगमा सहभागी टोलिले एकअर्का  टोलिसंग होम र अवे चरण खेल्ने छ । प्रत्येक चरणमा दुई खेल हुने छ अर्थात् एक टिमले अर्को टिम संग एक सिजनमा होम राउण्डमा दुई र अवे राउण्डमा दुई खेल खेल्नुपर्ने हुन्छ ।

उदाहरणको लागि गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको बीचमा पोखरा रंगशालामा दुई एक दिवसिय क्रिकेट खेल हुने छ भने फाप्ला मैदानमा (वा प्रदेश क्रिकेट संघले तोकेको मैदान)अर्को दुई खेल गरी एक सिजन ४ खेल हुने छ। यसरी सुपर लिगको  एक सिजनमा प्रत्येक टिमले ३६ खेल खेल्ने छन् । सामान्य सुधार गरे घरेलु क्रिकेट सुरु गरिहाल्न मिल्ने मैदानहरु कोशीको विराटनगर, इटहरी वा धरान, मधेसको जनकपुर वा बीरगन्ज, बागमतीको तल्लो मुलपानी, पुल्चोक मैदान, (कृतिपुर र माथिल्लो मुलपानी तयार नै रहेको) रहेका छन् ।

यसै गरी गण्डकी प्रदेशको पोखरा रंगशाला, लुम्बिनी प्रदेशको भैरहवा स्थित सिद्धार्थ मैदान र लमही मैदान प्रयोग गर्न सकिन्छ। कर्णाली प्रदेश सरकारले समेत राष्ट्रिय खेलकुदको लागि सुर्खेतमा मैदान बनाईरहेता पनि समय लाग्ने भएमा कोहलपुरलाई अस्थायी रुपमा प्रयोग गर्न सकिन्छ । सुदूरपश्चिम प्रदेशमा फाप्ला, एसएसपी मैदान, महेन्द्रनगर र बैतडी मैदान रहेका छन् । यिनै मध्ये तीन मैदान विभागीय टोलि समेत प्रयोग गर्न सक्दछन् ।

करिब डेढ बर्ष चल्ने प्रधानमन्त्री कप सुपर लिग मुख्य प्रतियोगिता प्रधानमन्त्री कपको छनौटको मुख्य आधार हुनेछ । प्रधानमन्त्री कप सुपर लिगको शिर्ष चारमा पर्ने टिम स्वत: प्रत्येक दुई बर्षमा आयोजना हुने प्रधानमन्त्री कपमा छनौट हुने छन् भने बाँकि ६ टिम बीच प्रधानमन्त्री कप क्वालिफायर्समा प्रतिस्पर्धा गर्नेछन् । क्वालिफायर्समा शिर्ष दुईमा रहने टिम सुपर लिगको शिर्ष चारमा पर्ने टिम गरी कुल ६ टिमलाई दुई समूहमा विभाजित गरी प्रधानमन्त्री कप खेलाउन उपयुक्त हुन्छ । प्रधानमन्त्री कप हरेक प्रदेशले पालैपालो आयोजना गर्ने छन् ।यस प्रतियोगितामा छनोट हुने ६ टिमले सुरुवाती-११ मा दुई बिदेशी खेलाडी खेलाउन पाउने व्यवस्था गर्न सकिने छ ।

५० ओवरका प्रतियोगिताहरु

बहुदिवसीय

स्व: जयकुमार नाथ शाह नेपाली क्रिकेटका सम्मानित पात्र हुनुहुन्छ । उहाँको नामबाट यस अघिनै जय ट्रफी भन्ने प्रतियोगिता आयोजना हुने गर्दथ्यो । यहि जय ट्रफीलाई अब बहुदिवसीय प्रतियोगिताको ब्रान्ड बनाउन सकिन्छ । घरेलु क्रिकेटका उत्कृष्ठ चार टिमले चार दिवसीय जय ट्रफी खेल्नेछन् भने पुछारका ६ टिमले तीन दिवसीय जय ट्रफी च्यालेन्जर खेल्नेछन् । अन्तिम प्रधानमन्त्री कपको चार शिर्ष टिमले पहिलो जय ट्रफी खेल्ने वातावरण मिलाउन सकिन्छ । जय ट्रफीमा अन्तिम स्थानमा रहने टिम अर्को सिजन च्यालेन्जरमा घटुवा हुने छ भने च्यालेन्जरको बिजेता अर्को सिजनको जय ट्रफीमा बढुवा हुने छ ।

जय ट्रफी र प्रधानमन्त्री कप सुपर लिग संगै-संगै जसो आयोजना गर्न सकिन्छ । उदाहरणको लागि जय ट्रफीका कुनै एक चरणका खेलहरु कुनै साताको बिहिबार, शुक्रबार, शनिबार र आइतबार गर्न सकिन्छ भने त्यस लगतै बिहिबार र शनिबार गर्न सकिन्छ । एक टिमले कम्तिमा ६ खेल खेल्ने गरी जय ट्रफी डबल राउण्डरोबिन र शिर्ष दुई बीच फाइनल हुने गरीमा खेलाउन सकिने छ। यस प्रतियोगिता सम्भव भए सम्म होम र अवे अन्यथा एक टिमले कम्तिमा तीन फरक मैदानमा खेल्ने गरी तालिका तयार गर्नु पर्दछ।

तीन दिवसीय जय ट्रफी च्यालेन्जर भने सिंगल राउण्डरोबिनका आधारमा खेलाउन सकिने छ । यस प्रतियोगितामा एक टिमले जम्मा ५ खेल खेल्न पाउने छ । मैदान भने समय अनुकुल व्यवस्था गर्न सकिन्छ । साताको शुक्रबार, शनिबार र आइतबार गर्न सकिन्छ । कतिपय खेलको नतिजाको लागि अन्तिम दिन सम्म कुर्न नपर्ने हुन्छ त्यसैले प्राय: आइबार अन्तिम दिन खेल राख्दा कम्ति  शनिबार सम्म खेल हुने सम्भावना उच्च हुन्छ र शनिबार दर्शकले समेत सेतो जर्सी र रातो बलको मजा लिन सक्दछन् ।

बहुदिवसीयको घरेलु संरचनाको प्रस्ताव

टि-२०

प्रधानमन्त्री कप सुपर लिगको आधा खेलसकिए पछि वा प्रिमियर लिगको लिलामी पहिले एक टि-२० राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु पर्दछ। यस प्रतियोगितामा ५-५ टिमको दुई समूहबाट सेमिफाइनलमा पुग्ने चार टोलिको लाग्ने छ र त्यस पश्चात फाईनल मार्फत बिजेता चयन गर्न सकिन्छ। यो प्रतियोगिता हरेक बर्ष आयोजना गर्दा उपयुक्त हुन्छ। टि-२० कै प्रिमियर लिगको खाका बारेमा छुट्टै चर्चा गर्नु उपयुक्त हुन्छ।

प्रधामन्त्री कप र टि-२० प्रिमियर लिगमा राष्ट्रिय टोलिमा रहने खेलाडी समेत सहभागी हुने गरी राष्ट्रिय टिमको क्यालेन्डरसंग नजुध्ने गरी समय निर्धारण गरिनु उपयुक्त हुन्छ । अन्य खेलहरु उपलब्ध खेलाडी सामेल गरी भने नियमित तालिकामा चल्ने तालिका लागु गर्नु पर्दछ ।

प्रतियोगिताको सम्भावित समय रेखा

महिला क्रिकेट:

महिला क्रिकेटको समेत टि-२० बाहेकका खेल हरु करिब दुई बर्षको एक सिजन हुने छन् । पहिलो केहि सिजन महिला क्रिकेट १० टिम सम्मिलित दुई दिवसीय खेल मार्फत महिलाको जय ट्रफी  संचालन गर्न सकिने छ । त्यस पश्चात फर्म्याट र दिन संख्या हेरफेर गर्न सकिन्छ । हाललाई ५-५ टोलिको दुई समूह बनाई दुई दिने खेल खेलाउने सेमीफाइनल र फाईनल मार्फत बिजेता चयन गर्ने तथा समूह चरण पार गर्न नसक्ने टोलिलाई कम्तिमा एक प्लेअफ खेलको व्यवस्था गरिनु राम्रो हुन्छ। यसले गर्दा एक टोलि कम्तिमा ५ र बढीमा ७ दुई दिवसीय खेल खेल्न पाउँछन ।

महिलाको  टि-२० राष्ट्रिय प्रतियोगिता समेत हरेक बर्ष यहिँ फर्म्याटमा खेलाउन सकिन्छ। प्रिमिएर लिग टि-२० को चर्चा यसमा गरिएको छैन तर उपयुक्त समय बार्षिक अधिकतम ६ टिम प्रतियोगिता सम्पन्न भए महिला खेलाडीलाई खेल कौशल प्रदर्शनका अलावा आर्थिक लाभ समेत मिल्ने छ ।

प्रधानमन्त्री कप सुपर लिग हाललाई सिंगल राउण्डरोबिनको अधारमा खेलाउन सकिन्छ। त्यस पश्चात सम्भव भए सम्म पुरुषको फर्म्याट अनुसार नै प्रधानमन्त्री कप क्वालिफायर्स र प्रधानमन्त्री कप खेलाउन सकिन्छ ।

महिला क्रिकेटको तालिका

 

यो लेखमा पुरुष तथा महिलाको उमेर समुह र फ्रेंचाइजी टि-२० प्रिमियर क्रिकेट संरचनाको चर्चा भने गरिएको छैन । आर्थिक पक्ष चुनौती पूर्ण देखिएता पनि संघ, प्रदेश तथा स्थानीय सरकार र क्रिकेटप्रेमी व्यवसायिक घरानाको स-साना सहयोग मार्फत एउटा सुरुवात गर्ने सके भविष्यको लागि जग बस्ने छ ।

(वातावरण इन्जिनियर अर्याल हाल काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्नु हुन्छ । )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy