- विकेटनेपाल,असोज ५
सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कपको लागि नेपाली युवा टिमले शनिबार देखि तयारी थाल्ने भएको छ।
यु-१९ युथ एसिया कपमा नेपालले भारतसंग सेप्टेम्बर २९ तारिकमा पहिलो खेल खेल्दैछ। नेपाल रहेको समुह ‘ए’ मा साविकको बिजेता अफगानिस्तान सहित भारत र युएई रहेका छन्। खेल तालिका सबैभन्दा तल
भारतमा यसै साता सम्पन्न चौकोणीय सिरिजमा सहभागिता पछि युवा टिम बिहिबार स्वदेश फर्किएको हो। सिरिजमा नेपालले भारत यु-१९ ‘ए’ र ‘बि’ संग पराजित भए पनि अफगानिस्तान यु-१९ लाई पराजित गरेको थियो भने तेश्रो स्थानको लागि भएको खेलमा भने पराजित भए पछि चौथो स्थान हाँसिल गरेको थियो।
टिमका मुख्य प्रशिक्षक बिनोद दासका अनुसार शनिबार १२:३० बजे देखि टिमले अभ्यास सुरु गर्नेछ। अभ्यासमा भारत टुरमा गएका र भारत जानु अघि टिममा रहेका गरि कुल १९ जना खेलाडीहरु रहेका छन्।

१९ मध्ये १५ जनाको टिम बंगलादेश जानेछ जसको छनौट भइसकेको र अन्तर्रास्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को अनुमति पछि १-२ दिन भित्रै टिमको घोषणा गर्ने दासले विकेटनेपाललाई जानकारी गराएका छन्। टिम २७ सेप्टेम्बरमा बंगलादेश प्रस्थान गर्ने तालिका रहेकोछ।
भारत टुरमा गएका खेलाडी मध्ये ३-४ वटा खेलाडी परिवर्तन गरेर टिम छनौट गर्ने यसअघिनै प्रशिक्षक दासले बताईसकेका छन्। सिनियर टिमका नियमित खेलाडी रोहित पौडेल समेत यु-१९ टिमबाट एसिया कपमा खेल्नेछन्।
मलेसियामा अघिल्लो बर्ष सम्पन्न यु-१९ युथ एसिया कपको अघिल्लो संस्करणमा नेपालले भारतलाई पराजित गर्दै इतिहासमै पहिलो पटक सेमीफाइनलसम्मको यात्रा तय गरेको थियो।
युथ एसिया कपमा नेपालको खेल तालिका
प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ।
२ वटा समुहबाट उत्कृस्ट २ हुने ४ टिमहरु सेमीफाईनल खेल्न छनौट हुनेछन्। अक्टोबर ४ र ५ तारिकमा सेमीफाईनल र अक्टोबर ७ तारिकमा फाईनल खेलिनेछ।
समुह ‘ए’ – नेपाल, भारत, अफगानिस्तान र युएई
समुह ‘बि’ – बंगलादेश, हंगकंग,पाकिस्तान र श्रीलंका
नेपालको खेल तालिका :- सेप्टेम्बर २९ Vs भारत, अक्टोबर १ Vs अफगानिस्तान, अक्टोबर २ Vs युएई