बंगलादेश, जिम्बाबे र अफगानीस्तान बीच बंगलादेशमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा बंगलादेशले जिम्बाबेलाई ३९ रनले पराजित गरेको छ।
सिरिजमा जिम्बाबे बिरुद्ध बंगलादेशको यो दोश्रो जित हो। यस अघि पहिलो खेलमा बंगलादेश ३ विकेटले विजयी भएको थियो। यस्तै अफगानिस्तानसंग भने बंगलादेश २५ रनले पराजित भएको थियो। जिम्बाबेले सिरिज अन्तर्गत खेलेको ३ वटा खेलमा हार बेहोरीसकेको छ र फाइनल पुग्ने सम्भावना सकिएको छ।
चटगाउँको जहुर एहमद चौधरी स्टेडियममा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै बंगलादेशले दिइएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाबेले २० ओभरमा सबै विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।
जिम्बाबेलाई सस्तोमा समेट्न बंगलादेश बलर शैफुल इस्लामले सर्वाधिक ३ विकेट तथा मुस्तफिजुर रहमान र अमिनुल इस्लामले २/२ विकेट लिए।
खराब सुरुवात गरेको जिम्बाबेले ४४ रनमै ६ विकेट गुमाएको थियो। त्यसपछि सातौँ नम्बरका ब्याट्सम्यान रिचमन्ड मुटुम्बामीले अर्धशतक बनाएर सानो योगफलमा समेटिन जोगाए। उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। आठौँ विकेटको लागि उनले कायल जार्भिससंग ५८ रनको साझेदारी गरे। जार्भिसले २७ रन बनाए।
बंगलादेशको ब्याटिंग
यस अघि बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो।
बंगलादेशको लागि महमुदुल्लाहले सर्वाधिक ६२ रन बनाए। उनले ४१ बलमा ५ छक्का र १ चौका प्रहार गरे। यस्तै लिटन दासले ३८ तथा मुश्फिकुर रहिमले ३२ रन बनाए। आठौँ ओभरमा ६५/३ को अवस्थाबाट रहिम र महमुदुल्लाहले चौथो विकेटको लागि ७८ रनको साझेदारी गरेका थिए। जिम्बाबे बलर कायल जार्भिसले ३३ तथा क्रिस मोफुले २ विकेट लिए।
सिरिज अन्तर्गत अब शुक्रबार जिम्बाबे र अफगानिस्तान तथा शनिवार बंगलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन्। बंगलादेश र अफगानिस्तान बीच फाइनल सेप्टेम्बर २४ मा खेलिनेछ।