जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

२०७८ श्रावण ८, शुक्रबार २०:०१

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ।

हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा जिम्बाब्वेले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

बंगलादेशको ब्याटिंगमा शमिम होसेनले सर्वाधिक २९ रन, अफिफ होसेनले २४ रन, मोहम्माद सैफुद्दीनले १९ रन, मेहदी हसनले १५ रन तथा शकिब अल हसनले १२ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा तेश्रो ओभरमा ब्लेसिंग मुजराबानिले दुवै बंगलादेश ओपनरलाई पेभेलियन फर्काए। तेश्रो विकेटको लागि मेहदी हसन र शाकिब अल हसनले २८ रनको साझेदारी गरे। सातौँ ओभरमा शाकिबलाई वेलिंगटन मासाकाट्जाले क्याच आउट गराए। मासाकाट्जा रोकिएनन् र नवौं ओभरमा मेहदी हसन नुरुल हसनलाई पनि पेभेलियन फर्काए।

६८ रनको योगफलमा ६ विकेट गुमाएपछि अफिफ होसेनले शैमन होसेनसंग सातौँ विकेटको लागि ४१ रनको साझेदारी गरे। आक्रामक ब्याटिंग गरिरहेका होसेनलाई १६ औं ओभरमा लुक जोंग्वेले क्याच आउट गराए। १८ औं ओभरमा अफिफलाई टेन्डाई चताराले क्याच आउट गराए। त्यसपछि जिम्बाब्वे पूर्णतः खेलमा हावी रह्यो।

जिम्बाब्वेको बलिंगमा लुक जोंग्वे ( ३.५-०-३१-३ ) र वेलिंगटन मासाकाट्जाले ( ४-०-२०-३ ) समान ३ विकेट लिए भने टेन्डाई चतारा ( ४-०-२४-२ ) र ब्लेसिंग मुजराबानिले ( ४-०-२१-२ ) समान २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १६६ रन बनाएको थियो।

जिम्बाब्वेको ब्याटिंगमा वेसले मधिभिरेले करियरकै उत्कृस्ट स्कोर बनाउने क्रममा सर्वाधिक ७३ रन बनाए जुन क्रममा ५७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै रायन बर्लले १९ बलमा २ चौका र २ छक्का मद्दतले अविजित ३४ रन बनाए। डायन मायर्सले २६, रेगिस चकाभाले १४ रन योगदान दिए।


अर्को किनारमा निरन्तर विकेट गुमेता पनि ओपनर मधिभिरेले विकेट नगुमाई १८ औं ओभरसम्म ब्याटिंग गरे। १८ औं ओभरमा उनलाई शोरिफुल इश्लामले अफिफ होसेनबाट क्याच आउट गराए। मधिभिरेले मायर्ससंग तेश्रो विकेटको लागि ५७ रनको महत्वपूर्ण साझेदारी गरे। मधिभिरेको विकेट पछि रायन बर्लले अन्तिममा आक्रामक सटहरु खेल्दै योगफल बढाए जुन क्रममा बर्लले लुक जोंग्वेसंग छैठौं विकेटको लागि २७ रन जोडे। अन्तिम ५ ओभरमा जिम्बाब्वेले ३ विकेट गुमेता पनि महत्वपूर्ण ५४ रन जोड्न सक्यो।

बंगलादेशको बलिंगमा देब्रे हाते पेसर सोरिफुल इश्लामले सर्वाधिक ३ विकेट ( ४-०-३३-३ ) तथा मेहदी हसन ( १-०-११-१ ) र शाकिब अल हसन ( ४-०-३२-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेश ८ विकेटले सहजै विजयी भएको थियो। सिरिज विजेताको तय गर्ने निर्णायक खेल जुलाई २५ तारिखमा खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy