शाकिबले शानदार प्रदर्शन गर्दा बंगलादेशको सिरिज जित

२०७८ श्रावण ३, आईतवार २१:०९

शाकिब अल हसनले शानदार प्रदर्शन गर्दा दोश्रो खेलमा घरेलु टोलि जिम्बाब्वेलाई ३ विकेटले पराजित गर्दै बंगलादेशले तीन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज एक खेल बाँकी रहँदै २-० ले आफ्नो पक्षमा पारेको छ।

हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा जिम्बाब्वेले दिएको २४१ रनको लक्ष्य बंगलादेशले ७ विकेट गुमाएर ५ बल बाँकी रहंदा पुरा गर्यो।

बंगलादेशको ब्याटिंगमा शाकिब अल हसनले अविजित ९६ रन योगदान दिए जुन क्रममा धैर्यतापूर्वक ब्याटिंग गरेका उनले १०९ बलमा ८ चौका प्रहार गरे। मोहम्मद सैफुद्दीनले अविजित २८ रन तथा महमुदुल्लाहले २६, लिटन दासले २१ तथा तामिम इकबालले २० रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा कप्तान तामिम इकबाल र लिटन दासले ३९ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा इकबाललाई टेन्डाई जोंग्वेले पेभेलियन फर्काएपछि बंगलादेशले लगातार विकेट गुमाउन पुग्यो। लिटन दास, मोहम्मद मिथुन र मोसदेक होसेन क्रिजमा जम्न नसक्दा बंगलादेश ७५/४ को नाजुक अवस्थामा पुग्यो।

तेश्रो नम्बरमा ब्याटिंग गरेका शाकिब अल हसनले महमुदुल्लाहसंग ५५ रनको साझेदारी गरे। तर २९ औं ओभरमा महमुदुल्लाह आउट भएपछि मेहदी हसन र अफिफ होसेनले शाकिबलाई लामो साथ दिन सकेनन्।

बंगलादेश १७३/७ को अवस्थामा शाकिबले मोहम्मद सैफुद्दीनसंग क्रिज सम्हाल्दै बंगलादेशलाई जिततर्फ डोर्याए। दुवैले आठौँ विकेटको लागि अविजित ६९ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए।

जिम्बाब्वेको बलिंगमा लुक जोंग्वेले २ विकेट लिंदा ब्लेसींग मुजराबानी, रिचर्ड नगराभा, वेसले मधिभिरे र सिकन्दर राजाले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको जिम्बाब्वेले ५० ओभरमा ९ विकेट क्षेतीमा २४० रन बनाएको थियो। जिम्बाब्वेको लागि वेसले मधिभिरेले सर्वाधिक ५६ रन योगदान दिए। यस्तै कप्तान ब्रेण्डन टेलरले ४६ रन, डायन मेयर्सले ३४ रन, सिकन्दर राजाले २० रन तथा रेगिस चकाभाले २६ रन योगदान दिए।


सुरुवाती विकेट गुमाएपछि ब्रेण्डन टेलरले चकाभासंग ४७ रनको तथा मेयर्ससंग ३१ रनको साझेदारी गरेका थिए। टेलर आउट भएपछि छैठौं नम्बरमा ब्याटिंग गरेका मधिभिरेले मेयर्ससंग ३५ रनको तथा सिकन्दर राजासंग ६३ रनको साझेदारी गर्दै योगफल २ सय पार गराए। ४५ औं ओभरमा मधिभिरेलाई शोरिफुल इश्लामले क्याच आउट गराए।

मधिभिरेको विकेट जानु अघि २०९/५ को अवस्था बाट जिम्बाब्वेले थप ३१ रन जोड्दा बाँकी ५ विकेट गुमाउन पुग्यो। देब्रे हाते पेसर शोरिफुल इश्लामले जिम्बाब्वेको तल्लो क्रमका ब्याट्सम्यानहरुलाई लामो समय जम्न दिएनन्।

इश्लामले करियरकै उच्च प्रदर्शन गर्ने क्रममा १० ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए। शाकिब अल हसनले २ विकेट ( १-०-४२-२ ) लिंदा तास्किन एहमद, मोहम्मद सैफुद्दीन र मेहदी हसनले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेश १५५ रनको विशाल अन्तरले विजयी भएको थियो। सिरिज अन्तर्गत अन्तिम एकदिवसीय जुलाई २० तारिखमा खेलिनेछ त्यसपछि जुलाई २३ तारिख देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज सुरु हुने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy