पोखरा प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन बुटवल ब्लास्टर्ससंग ८ विकेटले सहजै पराजित भएको छ।
चौथो खेल खेल्ने क्रममा पोखराको यो लगातार तेश्रो हार हो। पहिलो खेलमा काठमाडौँ गोल्डेन्स वारियर्सलाई ९ विकेटले पराजित गरेको पोखराले त्यसपछि चितवनसंग ६ विकेटको तथा बिराटनगर टाईटन्ससग ४५ रनको हार बेहोर्न पुगेको थियो। तेश्रो हार पछि अब पोखराको उत्कृस्ट-३ भित्र पर्दै प्ले-अफ पुग्ने सम्भावना कमजोर बनेको छ। पोखराले अब धनगढीसंग सोमबार लिगको अन्तिम खेल खेल्नेछ।
तेश्रो खेल खेल्दा बुटवलको भने यो दोश्रो जित हो। बुटवलले पहिलो खेलमा काठमाडौँलाई सुपर ओभरमा पराजित गरेको थियो भने दोश्रो खेलमा चितवन राइनोजसंग ११९ रनको हार बेहोरेको थियो।
पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले दिएको १२२ रनको लक्ष्य बुटवलले १४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

बुटवलको जितमा ओपनिंग ब्याटिंग गरेका भारतीय खेलाडी अफ्ताबुद्दीन एहमदले सर्वाधिक ७५ रन बनाए। उले ४६ बलमा १२ चौका र २ छक्का प्रहार गरे। शंकर रानाले १९ तथा भिम शार्कीले अविजित १६ रन बनाए।
राम्रो सुरुवात गरेको बुटवलका ओपनर अफ्ताबुद्दीन एहमद र शंकर रानाले पहलो विकेटको लागि १०.४ ओभरमा ८७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।
पोखराको बलिंगमा राशिद खान र प्रथमेश डाकेले समान १/१ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको पोखरा पल्टनले २० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाउदै १२२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
खराब सुरुवात गरेको पोखराले पहिलो ४ विकेट ३२ रनमै गुमाएको थियो। ओपनर कुशल भुर्तेल खाता नखोली आउट भए जसपछि कप्तान शरद भेसावकर ७ रन, बिनोद भण्डारी ३ रन तथा इशान पाण्डे १३ रन बनाएर आउट भए। भुर्तेललाई पहिलो ओभरमा ललित भण्डारीले एलबिडब्लु आउट गरे भने शरद र बिनोद लाई हर्ष टंकले क्याच आउट गराए। इशानलाई शिभम सिंहले क्याच आउट गराए।

पाँचौ विकेटको लागि रोहित पौडेलसंग रभी इन्दर सिंहले ३५ रनको सझेदरी गरे। १८ बलमा १ चौका र १ छक्का प्रहार गरेका रोहितलाई १४ औं ओभरमा नितेश थापाले बोल्ड गरे।
रोहितको विकेट पछि रभी इन्दरले प्रथमेश डाकेसंग छैठौं विकेटको लागि प्रथमेश डाकेसंग अविजित ५२ रनको अविजित साझेदारी गरे।
रभीले अविजित ४५ रन बनाए जुन क्रममा ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे। डाकेले २० बलमा १ चौका र १ छक्का मदतले २० रन बनाए।
बुटवलको बलिंगमा हर्ष टंकले उत्कृस्ट बलिंग गर्दै २ विकेट लिए। उनले ४ ओभरमा मात्र १० रन खर्चिए। ललित भण्डारी, शिभम सिंह र नितेश थापाले समान १/१ विकेट लिए।
खेलमा सोमपाल कामि घाइते भएपछि सिद्धान्त लोहनीले बुटवल टिमको कप्तानी गरेका थिए। सिद्धान्तले प्रतियोगितामा पहिलो पटक मौका पाएका हुन्।