इपिएल ‘ट्रेड एण्ड ट्रान्सफर’ : दिपेन्द्र र सुबास काठमाडौँमा, सोमपाल चितवनमा, शक्तिको स्थानमा लोकेश

मार्च १४ तारिक ( चैत्र १ ) देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिगको खेलाडी ‘ट्रेड र रिप्लेसमेन्ट’ सम्पन्न भएको छ। इपिएल आयोजकले दिएको जनवरी २ देखि ९ को मिति भित्र ‘ए’ श्रेणीका खेलाडीहरुलाई ‘ट्रेड’ गर्न खुला गरेको थियो।

इपिएलले सुरु गरेको नयाँ नियम अनुसार यो पटक काठमाडौँ किंग्स-११ टिमले आफ्नो मार्की खेलाडी समेत रहेका सोमपाल कामि चितवन टाइगर्सलाई ‘ट्रेड’ गर्दै चितवन टाइगर्सका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरीलाई टिममा भित्र्याएको छ। अब सोमपाल चितवन टाइगर्समा तथा दिपेन्द्र काठमाडौँ किंग्स-११ बाट खेल्नेछन्।

दुवै टिमले सोमपाल र दिपेन्द्रको ‘ट्रेड’ गरेको मूल्य गोप्य राखेको छ। ट्रेडको लागि निम्नतम दुइ लाख रुपैयाँ मूल्य राखीएको थियो।

यस्तै खेलाडीहरु रिप्लेसमेन्टको नियम अनुसार यो पटक काठमाडौँ किंग्स-११ ले हाल क्यानडामा रहेका आफ्नो ब्याट्सम्यान नरेश बुढायरको सट्टा सुबास खकुरेललाई टिममा लिएको छ। यस्तै हाल जापानमा रहेका देब्रे हाते स्पिनर सुशील कंडेलको सट्टा अन्डर-१९ राष्ट्रिय क्रिकेटर तिब्र गति बलर आकाश चन्दलाई टिममा भित्र्याएको छ।

यस्तै पोखरा राइनोजले गत सिजन इपिएलमा सन्यास लिएका शक्ति गौचनको सट्टा युवा क्रिकेटर लोकेश बमलाई टिममा लिएको छ। बमले भर्खरै सम्पन्न पोखरा प्रिमियर लिगमा राम्रो ब्याटिंग प्रदर्शन गरेका थिए।

इपिएलमा ललितपुर पेट्रिएट्स, चितवन टाईगर्स, काठमाडौँ किंग्स-११, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज गरि ६ वटा टिम रहेका छन्। गत सिजन ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले प्रतियोगिताको उपाधि जितेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy