एसीसी बैठक : एसिया कप आयोजना अझै अनिश्चित, भारतले पाकिस्तानमा नखेल्ने

कोभीड-१९ महामारीको कारण विश्व खेलकुद र क्रिकेट गतिविधिहरुको आयोजना रोकिएका छन् भने भविष्यमा आयोजना हुने प्रतियोगिताहरु समेत अनिश्चित बनेको छ। यसै वर्ष अक्टोबर नोभेम्बरमा हुने टि-२० विश्वकप आयोजना हुने नहुने अझै निर्णय भैसकेको छैन भने इन्डियन प्रिमियर लिग स्थगित भैसकेको छ।

यसै बीच एसियन क्रिकेट काउन्सिलको ( एसीसी ) आयोजनामा सेप्टेम्बर अन्तिममा आयोजना हुने एसिया कप बारे एसीसीले सोमबार भिडियो कन्फ्रेन्स बैठक गरेको छ । अहिलेको परिस्थितिमा निर्धारित समयमा एसिया कप आयोजना गर्न चुनौतीपूर्ण रहेको छ। बैठकले २०२२ मा चिनमा आयोजना हुने एसियन गेम्समा एसीसीको आवद्धताबारे पनि छलफल गरेको थियो।

एसीसी अध्यक्ष नज्मुल हसनको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारीबाट पैदा भएको स्थिति बारे चर्चा गरेको थियो। तर बैठकले एसिया कप आयोजना बारे ठोस निर्णय भने गर्न सकेन। एसिया कपको मिति तय गर्नको लागि पुनः महिनाको अन्तिममा बैठक आयोजना हुनसक्ने बताईएको छ।

बैठकमा पहिलो पटक भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुली सहभागी थिए।

भारतले पाकिस्तानमा नखेल्ने 

एसिया कपको यो पटक आयोजना अधिकार पाकिस्तान क्रिकेट बोर्डसंग छ। तर भारतीय क्रिकेट बोर्ड अध्यक्ष सौरभ गांगुलीले पाकिस्तानमा सुरक्षाका कारण प्रतियोगिता नखेल्ने बताएका छन्।

गत महिना बिसीसीआई अध्यक्ष गांगुलीले एक अन्तर्वार्तामा एसिया कप युएईमा आयोजना हुने र भारत र पाकिस्तान दुवै सहभागी हुने बताएका थिए।

युएईमा आयोजित २०१८ एसिया कप भारतले जितेको थियो

पाकिस्तानले आयोजना नगरे प्रतियोगिता २०१८ जस्तै युएईमा आयोजना हुन सक्नेछ। यो पटक एसिया कप टि-२० फर्म्याटमा आयोजना हुने तय भएको थियो।

सन् २००८ को एसिया कप आयोजना गरेपछि पाकिस्तानले निकै कम अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र आयोजना गरेको छ। २००९ मा श्रीलंकन राष्ट्रिय क्रिकेट माथि आतंककारी हमला पछि भारतले तथा अन्य टिमले समेत लामो समय पाकिस्तानमा खेल्न मानिरहेका छैनन्।

एसिया कपमा एसियाली टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनौट प्रतियोगिताबाट आउने १ राष्ट्र गरि ६ टिम सहभागी हुनेछन्। अगस्टमा मलेसियामा आयोजना हुने एसिया कप छनौटमा हंगकंग, कुवेत, सिंगापुर र युएई सहभागी हुँदैछ।

नेपाल भने लगातार दोश्रो पटक एसिया कप रेसबाट बाहिर भैसकेको छ। थाइल्याण्डमा फेब्रुअरीमा सम्पन्न एसिया कप पूर्वी छनौटमा नेपाल चौथो भएको थियो। सिंगापुर र हंगकंग पूर्वी क्षेत्रबाट छनौट भएका थिए। नेपालले ४ खेल मध्ये १ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो। मलेसिया र हंगकंगसंग पराजित भएको नेपालले थाइल्याण्ड पराजित गरेको थियो भने सिंगापुरसंगको खेल वर्षाले रोकिएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy