क्यानद्वारा पाकिस्तान सुपर लिग ड्राफ्टमा ५ नेपाली खेलाडीको नाम सिफारिस

२०७६ कार्तिक २२, शुक्रबार १९:१६

आगामी वर्ष २०२० फेब्रुवरीमा आयोजना हुने पाँचौ सिजनको पाकिस्तान सुपर लिग ( पीएसएल ) ड्राफ्टको लागि नेपाल क्रिकेट संघ क्यानले पांच जना नेपाली क्रिकेटरहरुको नाम सिफारिस गरेको छ।

क्यानले आज प्रेस बिज्ञप्ति जारि गर्दै राष्ट्रिय खेलाडीहरु करन केसी, पवन सर्राफ, ललित राजबंशी, आरिफ शेख र विनोद भण्डारीलाई सिफारिस गरेको बताएको छ। क्यानले आईसीसीलाई नाम पठाउने छ र आईसीसीले पाकिस्तान क्रिकेट बोर्डलाई नाम पठाउनेछ।

खेलाडीहरुलाई ड्राफ्टमा राख्नको लागि आईसीसीले क्यानलाई अनुरोध गरेपछि क्यानले पांच खेलाडीको नाम पठाएको हो। नेपाली खेलाडीहरुलाई ड्राफ्टमा राखिनेछ वा छैन भने निश्चित छैन।

गत सिजन सन्दिपले लाहोरबाट पीएसएल खेलेका थिए

गत सिजन पाकिस्तान सुपर लिगमा सन्दिप लामिछाने ड्राफ्ट मार्फत छनौट भएका थिए। उनले उक्त सिजन लाहोर कलन्दर्सको लागि खेलेका थिए। सन्दिपले यो पटक कुन टिमबाट खेल्ने ड्राफ्ट पछि तय हुनेछ। सन्दिप विदेशी लिगहरुमा आफ्नो एजेन्ट साया कर्पोरेसन मार्फत सहभागी हुँदै आएका छन्।

पीएसएलको ड्राफ्टको पहिलो चरण नोभेम्बर पहिलो सात तथा दोश्रो चरण नोभेम्बर अन्तिम साता आयोजना हुनेछ।

पाकिस्तान सुपर लिगको पुरा सिजन यो पटक पाकिस्तानमै आयोजना गर्ने बताईएको छ। यस अघि अधिकांश खेलहरु युएईमा खेलिन्थ्यो भने अन्तिम खेलहरु पाकिस्तानमा गर्ने गरिएको थियो।

पीएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर कलन्दर्स, मुल्तान सुल्तान्स, पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स गरि ६ टिम रहेका छन्। गत सिजन लिगको उपाधि क्वेटा ग्ल्याडीएटर्सले जितेको थियो।

सन्दिप बाहेक विदेशी क्रिकेट लिगहरुमा सोमपाल कामि सहभागी भएका छन् भने पारस खड्का आगामी साता देखि सुरु हुने टि-१० लिग खेल्न पहिलो पटक छनौट भएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy