काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ ।
टियु मैदानमा भएको खेलमा वेस्ट इन्डिज ७६ रनले विजयी भएको हो । जितसँगै वेस्ट इन्डिज ए ले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।
वेस्ट इन्डिज ए ले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब २ ओभरमा १ सय ५१ रन बनाउँदै अल आउट भयो ।
नेपालका लागि ओपनर लोकेश बमले २९ बलमा सर्वाधिक २८ तथा कुशल मल्लले ११ बलमा २० रन बनाए । विनोद भन्डारीले १५ बलमा १९ तथा अनिल शाह १० बलमा १५ रन बनाए । करण केसीले १७ बलमा २८ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो ।
वेस्ट इन्डिज ए का लागि ओपनर चार्ल्सले ६१ बलमा १३ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय १९ रनको शतकीय ईनिङ खेले । उनले ५५ बलमा शतक पूरा गरे । यस सिरिजमा वेस्ट इन्डिजको तर्फबाट यो पहिलो शतक हो । यस अघि पहिलो खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गरेका थिए ।
आन्द्रे फ्रेल्चरले ३३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । दोस्रो विकेटका लागि फ्रेल्चर र चार्ल्सले १ सय ४५ रनको शतकीय साझेदारी गरे । शतकीय साझेदारी सागर ढकालले तोडेका थिए ।
वेस्ट इन्डिज ए का अर्का ओपनर एलिक एथानेजले १० बलमा १७ रन बनाए । फेबियन एलेनले ९ बलमा २ चौका र १ छक्काको सहयोगमा १९ रन बनाए ।
नेपालका लागि करण केसी र सागर ढकालले समान एक एक विकेट लिए ।
वेस्ट इन्डिजको कुनै पनि टोली पहिलो पटक नेपाल भ्रमणमा छ । नेपालले जिम्बावेमा गत वर्ष वेस्ट इन्डिजको सिनियर टोलीसँग एकदिवसीय विश्वकप छनोट खेले तापनि टी(२० मा वेस्ट इन्डिजको कुनै पनि टोलीसँग पहिलो पटक खेल्दैछ ।
वेस्ट इन्डिजको ए टोलीमा सिनियर टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी रहेका कारण टोली बलियो रहेको छ ।
सिरिजको चौथो खेल बैशाख २० मा हुँदा पाँचौ तथा अन्तिम खेल बैशाख २२ मा हुनेछ । पाँचै खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुनेछ । नेपाली टोलीले टी(२० विश्वकपको तयारीका लागि यो सिरिज खेल्दै छ ।