चेन्नईमाथि गुजरातको सहज जित

२०८१ बैशाख २८, शुक्रबार २३:४७

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथी सहज जित निकालेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा भएको खेलमा गुजरातले ३५ रनको जित निकालेको हो ।

गुजरातले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन मात्र बनाउँन सक्यो ।

चेन्नईका लागि ड्यारियल मिचेल र मोईन अलिले अर्धशतकीय ईनिङ खेले । मिचेलले ३४ बलमा ७ चौका तथा ३ छक्काको सहयोगमा ६३ रन बनाए । अलिले ३६ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए ।

महेन्द्रसिंह धोनीले ११ बलमा १ चौका र ३ छक्काको सहयोगमा अविजित २६ रन बनाए । शिभम दुबेले १३ बलमा २१ तथा रविन्द्र जडेजाले १० बलमा १८ रन बनाए ।

गुजरातका लागि मोहित शर्माले तीन तथा राशिद खानले दुई विकेट लिए । उमेश यादव र सन्दीप वारियरले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय ३१ रन बनाएको थियो ।

गुजरातका लागि ओपनर गिल तथा सुदर्शनले शतकीय ईनिङ खेले । ओपनर तथा कप्तान गिलले ५५ बलमा ९ चौका र ६ छक्काको सहयोगमा १ सय ४ रनको शतकीय ईनिङ खेले । अर्का ओपनर सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ खेले ।

पहिलो विकेटका लागि गिल र सुदर्शनले २ सय १० रनको दोहोरो शतकीय साझेदारी गरे । चेन्नईका लागि तुसार देशपान्डेले २ विकेट लिए ।

बाह्रौ खेलमा पाँचौ जित निकालेको गुजरात अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । बाह्रौ खेलमा छैठौं हारका साथ चेन्नई चौथो स्थानमा कायमै छ । यस खेलमा जित निकालेको गुजरातको अघिल्लो चरणमा प्रवेशको सम्भावना बाँकी नै छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy