पाकिस्तान क्रिकेट बोर्ड ( पिसिबी ) ले यो वर्ष टि-२० विश्वकप स्थगित गर्ने निर्णयको समर्थन नगर्ने भएको छ।अन्तर्राष्ट्रिय क्यालेन्डर अस्तव्यस्त हुने हुनाले पिसिबीले यसको समर्थन गर्नेछैन।
पिसिबीको एक अधिकारीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को बिहिबार सुरु हुने बैठक अगाडी पाकिस्तानलाई यो विषयमा आईसीसीको फैसलाको प्रतीक्षा हुने बताएका हुन्।
“अहिले मे महिना चलीरहेको छ र धेरै समय बाँकी छ। आईसीसी सदस्यहरुले कोरोना भाइरसको महामारी स्थिति कस्तो रहन्छ प्रतीक्षा गर्नुपर्छ। दुइ महिना पछि पनि यो बारे निर्णय लिन सकिन्छ।”
उनले बताए – “अहिले कुनै क्रिकेट भइरहेको छैन तर दुइ महिना पछि वेस्ट इन्डिज र पाकिस्तान इंग्ल्याण्डमा खेल्नेछन्। त्यसपछि पनि फैसला लिन सकिन्छ”
सुत्रका अनुसार पाकिस्तान क्रिकेट बोर्ड एसिया कप र टि-२० विश्वकप स्थगित गर्ने अड्कलबाट खुसि छैन। यसले भारतीय क्रिकेट बोर्डलाई आईपीएल आयोजना गर्न समय प्राप्त हुनेछ। पाकिस्तान बोर्ड आईसीसी विश्वकपलाई स्थगित गरेर आईपीएलको आयोजना गर्ने पक्षमा छैन।
टि-२० विश्वकप २०२२ सम्म सर्ने सम्भावना
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सन् २०२२ सम्म प्रतियोगिता सार्ने निश्चित जस्तो छ। आईसीसीको बिहिबार हुने बोर्ड सदस्यहरुको बैठकले टि-२० विश्वकपको भविष्यबारे औपचारिक घोषणा गर्नेछ।
भारतमा सन् २०२१ मा टि-२० विश्वकप आयोजना हुने तय भैसकेको हुनाले एकै वर्ष दुइ वटा विश्वकप राख्न युक्तिसंगत नदेखिएको हो। ब्रोडकाष्टर स्टार स्पोर्ट्सको लागि पनि यो चिन्ताको विषय हो।
२०२१ मा भारतमा टि-२० विश्वकप
सुत्रका अनुसार भारतमा अक्टोबरमा आइपिएल आयोजना भएको खण्डमा ६ महिनामा २ वटा आइपिएल तथा २०२१ मा फेरी २ वटा विश्वकप गर्नु अनुचित निर्णय हो। अर्कोतर्फ बिज्ञापन बजार पनि अहिले मारमा रहेकोले अझ मुस्किल हुनेछ। यसै कारणले यो वर्ष अस्ट्रेलियामा तय भएको टि-२० विश्वकप २०२२ मा गरिने भएको छ।
भारतमा सन् २०२१ मा टि-२० विश्वकप आयोजना हुनेछ। त्यसपछि अर्को वर्ष अस्ट्रेलियाले २०२२ मा अर्को टि-२० विश्वकप आयोजना गर्नेछ। त्यसपछि सन् २०२३ मा ५० ओभरको विश्वकप भारतमा खेलिनेछ। यो योजनालाई भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) अध्यक्ष सौरभ गांगुलीले पनि समर्थन गर्ने बताईएको छ।
आईपीएल यसै वर्ष हुने सम्भावना प्रवल
टि-२० विश्वकप अस्ट्रेलियामा यो वर्ष आयोजना नहुने भएपछि इन्डियन प्रिमियर लिग ( आईपीएल ) आयोजना हुने सम्भावना प्रबल बनेको छ।
यदी कोरोना भाइरस नियन्त्रणमा आए अक्टोबरमा आयोजना गर्न सकिनेछ। यस बारे औपचारिक घोषणा जुलाईमा हुन सक्नेछ। आयोजना बारे निर्णय पूर्णत भाइरसको स्थितिमा निर्भर गर्नेछ।
( क्रिकेटकन्ट्री र आजतकको सहयोगमा )