भुटान बिरुद्ध नेपालको कीर्तिमानी जित, शतक बनाउदै ज्ञानेन्द्रले तोडे पारसको रेकर्ड

१३ औं दक्षिण एसियाली खेलकुद पुरुष क्रिकेट अन्तर्गत नेपालले पहिलो जित हात पार्ने क्रममा भुटानलाई १४१ रुनको विशाल अन्तरले पराजित गरेको छ।

टियु मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो।

१४१ रनको जित टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको  सबैभन्दा ठुलो रन अन्तरको जित हो। यस अघि नेपालले हंगकंग बिरुद्ध २०१४ को टि-२० विश्वकपमा ८० रनको जित दर्ता गरेको थियो।

नेपालको २३७ रन लक्ष्य पछ्याउने क्रममा भुटानको लागि रनजंग दोर्जीले सर्वाधिक २७ रन, सोनाम तोबगेले १५ रन तथा तोबदेन सिंगेले ११ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिङ्गमा पारस खड्काले २ विकेट तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले १/१ विकेट लिए।

ज्ञानेन्द्रको किर्तिमान 

यस अघि टस जितेर भुटानले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३६ रनको योगफल तयार गरेको थियो।

नेपालको टि-२० अन्तर्राष्ट्रियमा यो सबैभन्दा ठुलो योगफल हो। यस अघि नेपालले यसै वर्ष जुलाईमा मलेसिया बिरुद्ध पहिले ब्याटिंग गर्दै १७३ रन बनाएको थियो जुन रेकर्ड नेपालले तोडेको हो।

Gyanendra Malla ( File Photo )

नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक १०७ रन बनाए। मल्लले ५५ बलमा ९ छक्का र ५ चौका प्रहार गरे। मल्ल पारस खड्का पछि टि-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोश्रो नेपाली ब्याट्सम्यान बनेका छन्। पारसले यसै वर्ष सिंगापुर बिरुद्ध शतक प्रहार गरेका थिए।

यस्तै ज्ञानेन्द्रले १०७ रन बनाउने क्रममा नेपालको लागि टि-२० मा सर्वाधिक व्यक्तिगत रन बनाउने रेकर्ड पनि बनाएका छन्। पारसले सिंगापुर बिरुद्ध १०६ रन बनाएका थिए जसलाई मल्लले उछिनेका हुन्।

ओपनिंग ब्याटिंग गरेका पारस खड्काले ५७ रन बनाए जुन क्रममा २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले अविजित ४५ रन बनाए। ऐरीले २७ बमा २ छक्का र ४ चौका प्रहार गरे। रोहित पौडेल ६ रन बनाएर आउट भए भने आरिफ शेखले अविजित ४ रन बनाए।

भुटानको बलिंगमा कर्मा दोर्जीले सर्वाधिक २ विकेट लिए।

भुटानसंग सोमपाल कामिको सट्टा तिब्र गति बलर राशिद खानले नेपाली टिममा डेब्यु गरेका छन्।

Rashid Khan

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासंग ६ विकेटको हार बेहोरेको थियो। अब नेपालले लिग चरण अन्तर्गत आगामी खेल माल्दिभ्स बिरुद्ध डिसेम्बर ६ मा तथा बंगलादेश बिरुद्ध डिसेम्बर ७ मा खेल्नेछ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy