नेपाली अम्पायरहरुले मलेसियाको घरेलु क्रिकेटमा अम्पायरिंग र स्कोरिंग गर्न पाउने अधिकारिक सम्झौता भएको छ। मलेसियामा मंगलबार मलेसियन क्रिकेट एसोसीएसन र क्रिकेट अम्पायर र स्कोरर एसोसिएसन नेपाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
मलेसियन क्रिकेट एसोसिएसनको तर्फबाट अध्यक्ष महिन्दा भाल्लीपुरम र नेपालको तर्फबाट अम्पायर र स्कोरर एसोसिएसन नेपालका अध्यक्ष बुद्धि बहादुर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो। कार्यक्रममा अम्पायर र स्कोरर एसोसिएसन नेपालका कार्यकारी सदस्य दुर्गा नाथ सुवेदी र मलेसिया क्रिकेट एसोसिएसनका सीइओ दिनेश मुत्थुरमनको पनि उपस्थिति रहेको थियो।
मलेसियामा जारि आईसीसी विश्वकप च्यालेन्ज लिग ‘ए’ प्रतियोगिता भइरहेको छ जहाँ नेपाली अम्पायर बुद्धि बहादुर प्रधान र दुर्गानाथ सुवेदीले अम्पायरको भूमिका निभाईरहेका छन्। सोहि अवसरमा यो सम्झौता पनि जुरेको हो।
के छ सम्झौतामा
सम्झौता अनुसार अब आगामी दिनमा नेपाली मान्यताप्राप्त अम्पायरहरु र स्कोररहरु मलेसियाको घरेलु क्रिकेटमा अम्पायरिंग र स्कोरिंग गर्न जानेछन्। यस्तै मलेसियन क्रिकेट अम्पायर र स्कोररहरु पनि नेपालको घरेलु क्रिकेटमा आउनेछन्। दुइ देश बीच यस्तो खालको सम्झौता भएको यो नै पहिलो पटक हो।
सम्झौता अनुसार दुवै पक्षले प्रतियोगिता र लिगको छनौट गरि म्याच अफिसियलहरु चुन्नेछ। २०१९ देखिनै यसको सुरुवात हुनेछ।
कार्यक्रममा मन्तब्य राख्नुहुँदै मलेसियन क्रिकेटका अध्यक्ष भाल्लीपुरमले बताउनुभयो – “मलेसिया क्रिकेट एसोसिएसन सधै नेपाल क्रिकेटसंग नजिक रहेको छ। यो सम्झौता दुइ देश बीचको मैत्रीपूर्ण साझेदारीको पहिलो खुड्किलो हो। मलेसिया क्रिकेट आफ्नो खेलाडीलाई मात्र हैन अफिसियलहरुलाई पनि एक्सपोजर दिन प्रतिबद्ध रहेको छ।” आईसीसीको एसोसिएट मेम्बर निर्देशक समेत रहेका भाल्लीपुरमले नेपालमा क्रिकेट संस्कृतिको प्रशंशा गर्दै यो कार्यक्रमले दुवै देशको अम्पायर र स्कोररले एक्सपोजर र अवसर पाउने बताउनु भयो।

अम्पायर र स्कोरर एसोसिएसन नेपालका अध्यक्ष बुद्धि बहादुर प्रधानले पनि यसले अम्पायरले अवसर पाउने बताउनु भयो “यो नै दुइ एसोसिएट देश बीच यस्तो खालको पहिलो सम्झौता हो जसले अरुलाई पनि उदाहरणको काम गर्नेछ र अम्पायर र स्कोररलाई अवसर दिनेछ ”
नेपाली अम्पायरहरु बुद्धि बहादुर प्रधान, दुर्गा नाथ सुवेदी र बिनय कुमार झा गरि नेपालका ३ जना अम्पायर आईसीसीको डेभलपमेन्ट प्यानलमा रहेका छन्। प्रधान, सुवेदी र झा आईसीसी र एसीसीले आयोजना गर्ने बिभिन्न प्रतियोगिताहरुमा अम्पायरिंग गर्दै आएका छन्। आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बित गरे पछि डेभलपमेन्ट प्यानल बाहेकका अम्पायरहरुले भने निकै कम मौका पाइरहेका छन्।
मलेसियासंगको सम्झौता पनि अब मलेसियाको घरेलु प्रतियोगिता नेपाली अम्पायर र नेपालमा आयोजना हुने ठुला लिगहरुमा मलेसियन अम्पायर उपस्थित हुनेछन्। यो सम्झौताले दुवै देशको अम्पायरको स्तरमा वृद्धि हुने अपेक्षा राख्न सकिन्छ।