आईसीसी विश्व कप लिग-२ अन्तर्गत स्कटल्याण्ड, अमेरिका र युएई बीच युएईमा जारि सिरिज अन्तर्गत पाँचौ खेलमा स्कटल्याण्डले अमेरिकालाई ४ विकेटले पराजित गरेको छ।
सिरिज अन्तर्गत लगातार ३ खेलमा जित दर्ता गरेको अमेरिकाको यो पहिलो हार हो। यस अघि पहिलो खेलमा अमेरिकासंग ३५ रनले पराजित भएको स्कटल्याण्डको भने सिरिजमा यो पहिलो जित हो। स्कटल्याण्ड र युएई बीचको खेल वर्षले रद्द भएको थियो। युएई हालसम्म जित विहिन रहेको छ। ( अंकतालिका तल हेर्नु होला )
आईसीसी एकेडेमीमा शनिवार सम्पन्न खेलमा अमेरिकाले दिएको २४६ रनको लक्ष्य स्कटल्याण्डले ४८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। स्कटल्याण्डको लागि कलम म्याकलोएडले सर्वाधिक ६२ रन बनाए। रिची बेरिंगटनले ३६, सफ्यान सरिफ र जोश डेभेले समान २६ रन बनाए।
एक समय ७५ रनमा ३ विकेट गुमाएको स्कटल्याण्डको लागि चौथो विकेटको रुपमा म्याकलोएड र बेरिंगटनले ७८ रनको साझेदारी गरेका थिए। दुवै ब्याट्सम्यान आउट भएपछि १८८/६ को अवस्थाबाट सातौँ विकेटको लागि सरिफ र डेभेले अविजित ५८ रनको साझेदारी गर्दै टिमलाई जित दिलाएका थिए।
अमेरिकाको बलिंगमा क्यामरन स्टेभेनसनले ३ तथा सौरभ नेत्रभालकर र निसर्ग पटेलले १/१ विकेट लिए। रस्टि थेरोन विकेट विहिन रहे।
यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २४५ रन बनाएको थियो। उसको लागि स्टेभेन टेलरले सर्वाधिक ५६ तथ जेभियर मार्शलले ५० रन बनाए। स्कटल्याण्ड बलर मार्क वाटले ३ विकेट तथा जोश डेभे, एलेस्टर इभान्स र हम्जा ताहिरले २/२ विकेट लिए।
सिरिज अन्तर्गत अब अन्तिम खेल युएई र स्कटल्याण्ड बीच आइतबार खेलिनेछ।
हारको बाबजुद विश्वकप लिग-२ अंकतालिकामा अमेरिका ८ खेलमा ६ जित र २ हार सहित १२ अंक बटुली शिर्षस्थानमा रहेको छ। दोश्रो स्थानमा रहेको स्कटल्याण्डको ७ खेलमा ४ जित र २ हार सहित ९ अंक रहेको छ। नामिबिया र ओमान समान ६ अंक सहित तेश्रो र चौथो स्थानमा रहेको छ। युएईले ३ खेल खेल्दा जित बिहिन रहेको छ। पपुवा न्यु गिनीले खेलेको सबै ८ खेलमा हार बेहोरेको छ। नेपालले हालसम्म कुनै खेल पनि खेलेको छैन।
विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल ओमान र अमेरिकासंग नेपालमै फेब्रुअरीमा खेल्नेछ। सिरिजको लागि टियु क्रिकेट मैदानको स्तरोन्नति थालीसकिएको छ।