पोखरा पर्यटकीय दृष्टिकोणबाट निकै धनी छ । पोखराको हिमाली दृश्यावलोकन सहित तालतलैयामा डुंगा शयर गर्दै समय बिताउन नचाहने को होला र ? पोखराको पर्यटकीय आयामको रुपमा पछिल्लो समयमा पोखरा रंगशालाले पनि आफूलाई उभ्याएको छ ।
पोखरा रंगशाला नेपालकै सबैभन्दा सुबिधायुक्त रंगशाला बन्ने सम्भाव्यता बोकेको छ । एउटै रंगशाला भित्र ११–१२ वटा खेल खेल्ने सुबिधा यस पोखरा रंगशाला भित्र रहेको छ । माछापुच्छ्रेको आँगनमा खेलाडी खेल्छन् । हिमाली दृश्यावलोकनका साथ खेल्न पाउँदा सबै खेलाडीको मन रमाउँछ । हिमालको पृष्ठभूमि रहेको फोटो तथा भिडियो निकै आकर्षक आउँछ ।
अहिले पोखरा रंगशाला भित्रको क्रिकेट मैदान निकै चर्चामा रहेको छ। पिपिएलबाट चर्चित यस मैदानमा सागको महिला क्रिकेट सञ्चालन भयो । किर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान पछि पोखराको मैदानले अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सफल भयो ।
साग क्रिकेट अगाडी यसै मैदानमा विश्वकै प्रतिष्ठित क्रिकेट क्लब मेरिलिवन क्रिकेट क्लबले यसै मैदानमा दुई खेल खेल्यो। २०७५ मा क्विन्स इभेन्ट म्यानेजमेन्टले पोखरा प्रिमिएर लिगको आयोजना गरेपछि यो मैदानले सरोकारवालाको ध्यान तानेको छ ।
प्राकृतिक रूपमा फलेको दुबोले भरिएको मैदान, मैदान अगाडि नै सेताम्मे हिमाल, पोखराको चिसो हावा अनि मैदान अगाडि उडान अवतरण गर्ने विमानहरु । मैदान निकै सुन्दर देखिन्छ। यस मैदानले पोखरा र आसपासका उदयीमान खेलाडीलाई खेल्ने ठाउँ दिएको छ । साथै पोखराको पर्यटन क्षेत्रलाई उर्जा पनि थपेको छ ।
गएको महिना पोखरामा एमसीसीको टोली आयो । त्यस टोलीका कप्तान जिम्मि एडम्स र अर्का महत्वपूर्ण सदस्य यासिर अराफातले आफूहरुलाई पोखराको यस मैदान निकै मन परेको प्रतिक्रिया दिए। एडम्सले स्वर्ग मुनी बसेर खेलेको जस्तो अनुभव बटुलेको बताए । यस्तै, अराफातले पाकिस्तानको लाहोर पिण्डिको झल्को पाएको बताए ।
उनीहरुलाई मैदानको प्राकृतिक सुन्दरताले त छोयो तर मैदानको अवस्थाले निकै पिरोल्यो । न त राम्रो ड्रेसिङ रुम नै थियो न त स्तरीय शौचालय । स्तरीय शौचालयनै नपाएको मैदानमा उनीहरुले अभ्यास गर्न नेट्सको सुविधा पाउने त कुरै आएन । अन्तराष्ट्रिय स्तरमा खेल खेल्ने उनीहरुले उचित ड्रेसिङ रुम नपाउनु आफैँमा लज्जास्पद थियो ।
एमसीसीको भ्रमण पछि यस मैदानमा साग हुने भयो । सागका लागि निकै राम्रोसँग मैदान बन्ला भन्ने आश समर्थक र खेलाडीमा रहेको थियो । उनीहरुको आशा अनुसार मैदान स्तरोन्नतिका लागि सरकारबाट बजेट समेत आयो । सरकारले महिला क्रिकेटका लागि ६० लाख बजेट स्वीकृत गर्यो । तर अहिले सम्म केबल २० लाख रुपैँया आफुहरुसँग आएको क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जय कान्त सिग्देलले बताए । यसका लागि क्रिकेट सङ्घ कास्कीले दिनरात काममा खटियो तर साना साना गल्ति पक्कै भएका थिए ।
नेपाली महिला टोलीले पोखरा आएर लामो प्रशिक्षण गर्न चाहन्थ्यो । तर उनीहरुको चाहना अनुुसार उनीहरुले पोखरामा प्रशिक्षण गर्न पाएनन् किनभने पोखराका पिच समयमा तयार हुन सकेन । पिच नै नबनेपछि पोखरा प्रशिक्षण सम्भव थिएन । पिच बनिसकेपछी ढिलो गरि नेपाली महिला टोली पोखरा आयो ।
पोखरामा आयोजना गरिएको सागले पोखराको पर्यटनमा ठूलो महत्व राख्छ । साग र पोखरा पर्यटन एक आपसमा जोडिएका थिए । सागमा नेपाल सरकार र गण्डकी प्रदेश सरकारको उचित व्यवस्थापन मार्फत पोखराको पर्यटनवृद्धि पक्का रहेको थियो । पोखरा क्रिकेट मैदान, खेलाडीका लागि केबल मैदानमात्र नभई सिङ्गो पोखराको प्रतिनिधि रहेको थियो । तर नेपाल सरकार र गण्डकी प्रदेश सरकारले त्यही प्रतिनिधिलाई समेत राम्रो तरिकाले उभ्याउन सकेनन् । न शौचालय नै व्यवस्थित थियो न ड्रेसिङ रुम नै । मैदानसम्म पुग्ने बाटो पनि धुलाम्मे थियो । मन बुझाउने बाटो केवल हिमाली दृश्य रहेको थियो।
यसले गर्दा समर्थकहरुमा निराशा छाउनु स्वभाविक थियो । तिनै समर्थक मध्यका एक थिए– बिज्ञान कार्की । बिज्ञान बङ्लादेश र श्रीलंकाबिच स्वर्ण पदकका लागि भएको खेल हेर्न १०० रुपैयाँको टिकट काटेर मैदान पुगे । काठका फल्याकले बनाइएको प्यारापिटमा बसे र खेल हेर्न थाले । उनिसङ्गै खेल हेर्न गएका उनका साथिहरुले शौचालय नै देखेनन्, उनीहरु जसोतसो खेल नै हेर्न बसिरहे । यसकारण पोखरामा क्रिकेट मोह बढ्दो रहे पनि उचित व्यवस्थापन हुन नसक्दा क्रिकेट हेर्ने समर्थक औलांले गन्न सकिने भएको दिनमा महिला फुटबलमा समर्थकको घुइँचो थियो।
समस्या खेलाडीको पनि उस्तै थियो । साग महिला क्रिकेटमा स्वर्ण विजेता टोली बङ्लादेशका व्यवस्थापक जाबेद उमरले पोखरामा अन्तराष्ट्रिय क्रिकेट पहिलो पटक आयोजना हुँदा केही पक्षमा गल्ति भएको बताए । उनले यस मैदानमा उचित ड्रेसिङ रुम र वासरुम गराइनु पर्ने बताए । आफ्नो टिमले व्यवहारिक हुँदै ती कमजोरी भन्दा आफ्नो टोलीको खेल प्रदर्शनमा ध्यान दिएकाले पनि स्वर्ण जित्न सफल भएको प्रतिक्रिया दिए ।
यस्तै रजत जित्न सफल श्रीलंकन टोलीका क्रिकेट विश्लेषक कबि परेराले स्तरीय ड्रेसिङ रुम र वासरुम नहुनाले खेलाडीमा आंशिक असर पर्ने बताउँछन् । उनले नेपाल क्रिकेट विकासमा अगाडि बढीरहँदा यस्ता साना साना कुरामा पनि ध्यान दिनु पर्ने बताउँछन् ।
यता नेपाली टोलीकी कप्तान रुबिना क्षेत्री भने आयोजकको बचाउ गर्दै अरु ठुला कुरामा ध्यान दिएर स्तरीय बनाउन खोज्दा साना कुरामा ध्यान नगएको बताउँछिन् । उनले नेपाली प्रशिक्षक जगत टमाटा पनि उचित व्यवस्थापनका लागि खटेको प्रसङ्ग निकाल्दै भनिन्, ‘उहाँहरु कसरी उत्कृष्ट प्रतियोगिता आयोजना गर्न सकिन्छ भनेर दिनरात खट्नु भयो, पहिलो पटक काठमाडौँ बाहिर अन्तराष्ट्रिय क्रिकेट आयोजना भयो । साना कुरामा मन दुखाउनु भन्दा राम्रो खेल्ने हाम्रो सोच हो ।’
क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सिग्देलले भने बिदेशी खेलाडीले विकसीत देशमा जस्तो सुविधा नेपालमा खोज्नाले उनीहरुले गल्ति आँल्याएको बताउँछन्- ‘गल्ति खोज्ने हो भने टियु मैदानमा पनि स्क्रिनको समस्या छ, पहिलो पटक हामीले काठमाडाँ बाहिर अन्तराष्ट्रिय खेल आयोजनाको अनुभव बटुल्याँ ।’ अध्यक्ष सिग्देलले भने,‘खेलाडीले विकसित राष्ट्रमा जस्तो सेवा यहाँ खोज्न मिल्दैन । जस्तो भएपनि आएर खेलिदिनु भयो हामी आभारी छाँै ।’ उनले शौचालय बनाउन केही ढिला भएको स्विकार्दै उचित चेन्जिङ रुम प्रदान गरेको दावी गर्छन् ।
पोखराको यस मैदानका लागि अन्तरास्ट्रिय प्रतियोगिता आयोजनाको यो पहिलो अनुभव रहेको थियो । पहिलो प्रयासमा कमीकमजोरी संगै गल्ती पनि पक्कै हुन्छन् । त्यही गल्ती र कमीकमजोरी बाट सबैले सिकेर अगाडि बढ्न पर्छ । त्यसरी नै साग महिला क्रिकेट आयोजनामा भएका कमिकमजोरी सुधार्दै नेपाल सरकारले पोखरा क्रिकेट मैदानमा स्तरोन्नति आजै देखि थाल्नु पर्छ र आगामी दिनमा अझै धेरै अन्तर्राष्ट्रिय खेल आयोजना तर्फ लाग्नु पर्छ । यसले नेपाली क्रिकेट विकासका साथै पर्यटन मार्फत पोखरा र समग्र देशकै आर्थिक प्रगतिमा टेवा पुग्ने निश्चित छ ।