ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग ३ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ४४ रनको सामान्य लक्ष्य क्यानडा हाइप्रफमेन्स टिमले ३६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
क्यानडा हाईप्रफमेन्स टिमका लागि युवराज शर्माले ४४, कप्तान शुभम शर्माले २७, गुरसाहिब सिंहले १७ तथा ओलिभर कक्सले १६ रन जोडे ।
नेपालका लागि अनिलकुमार शाहले ४, कप्तान सोमपाल कामी, रिजन ढकाल, ललित नारायण राजवंशीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९.४ ओभरमा अल आउट हुदै १ सय ४३ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि अनिलले ३४, अर्जुन साउदले ३३, कुशल भुर्तेलले २५ तथा आरिफ शेखले २३ रन जोडे ।
एकसमय ७४ रनमा कुनै विकेट नगुमाएको नेपालले बाँकी १० विकेट ६९ रन जोड्दा गुमायो ।
क्यानडा हाईप्रफमेन्सका लागि शाहिद अहमदजाइले ७.४ ओभरमा २७ रन खर्चिएर ५ विकेट लिए ।
राना सलमान घानीले २ तथा गुरपाल सिन्धु र इफार्न सदातले समान १ विकेट लिए ।
विश्वकप लिग टूका लागि अमेरिका जानु अघि नेपालले अभ्यास खेल खेलेको हो ।