अनिलको अल-राउण्ड प्रदर्शनमा शिवशक्तिको जित

२०७४ फाल्गुन १०, बिहीबार २०:१४

  • विकेटनेपाल – १० फाल्गुन, बिहिवार

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहिवारबाट डिभिजन “ए” को खेल सुरु भएको छ। बिहिवार भएको डिभिजन “ए” को पहिलो खेलमा शिवशक्ति क्रिकेट क्लबले ज्ञानोदय क्रिकेट क्लबलाई १८२ रनको बिशाल अन्तरले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै शिवशक्तिले दिएको ३०५ रनको बिशाल लक्ष्यको पिछा गरेको ज्ञानोदयले मात्र ३४.२ ओभर ब्याटिंग गर्दै अल आउट हुनअघि १२२ रन मात्र जोड्न सक्यो। उसको इनिंगमा निशान पुरीले ३६ र निशान शर्माले ३० रन बनाएपनि टोलिलाई जित दिलाउन सकेनन्।

बिपक्षि क्लबलाई सस्तैमा समेट्न शिवशक्तिका लागि म्यान अफ दि म्याच बनेका अनिल थापाले ४ विकेट चट्काए। यस्तै विधान सुनार, हरजित सिंह, र कृष्ण कार्कीले समान २-२ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको शविशक्तिले निर्धारित ५० ओभरको खेलमा २ बल अघि (४९.४ओभर) सबै विकेट गुमाएर ३०४ रन जोडेको थियो। उसका लागि अनिल थापाले सर्वाधिक ७३ रनको योगदान दिंदा यम क्षेत्रीले ५२, सुमन अधिकारीले ३८ र कृष्ण कार्कीले ३६ रन बनाएका थिए।

बलिंगमा ज्ञानोदयका सन्तोष क्षेत्री र निशान पुरीले समान ३-३ विकेट लिएका थिए।

शुक्रबार वेष्टर्न क्रिकेट क्लब, बुटवल र देवदह क्रिकेट युनिट, देवदहबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिग प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ। विजेता क्लबले नगद ७० हजार तथा उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने सुपर लिगको सहप्रायोजन बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले गरेका छन्।

प्रतियोगिताको उत्कृस्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले नगद ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन्। रुपन्देही क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy