आर्मीको लगातार दोस्रो जित

२०८१ फाल्गुन २८, बुधबार १५:२१

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।

सिद्धर्थनगर क्रिकेट मैदानमा बुधबार आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकिालेको हो ।

सुदूरपश्चिमले दिएको ११८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष कार्कीले ६३ बलमा १० चौकाको मद्तले अविजित ५५ रनको योगदान गरे । यसैगरी तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले अविजित रन बनाए ।

सन्तोषले तेस्रो विकेटका लागि विनोदसँग अविजित ६१ र पहिलो विकेटका लागि तृतराजसँग ५३ रनको साझेदारी गरे ।

सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले समान विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले १२१ बलमा दुई चौकाको मद्दतले अविजित ४९ रनको योगदान गरे । यसैगरी सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाए ।

आर्मीका लागि शहाब आलमले चार, सोमपाल कामीले दुई तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले समान एक विकेट लिए ।

जितसँगै आर्मीले दुई खेलमा चार अंक जोडेको छ । पराजित सुदूरपश्चिमको तीन खेलबाट दुई अंक छ । आर्मीले पहिलो खेलमा बागमतीलाई हराएको थियो । कर्णालीसँग हार बेहोरेको सुदूरपश्चिमले गण्डकीलाई पराजित गरेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy