काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ।
देउखुरी अन्तराष्ट्रिय रंगशालामा शुक्रबार सम्पन्न खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो।
गण्डकीले दिएको ११७ रनको लक्ष्य आर्मीले २६.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो। आर्मीका लागि ओपनर तृतराज दासले ३७ रन बनाए। बसिर अहमद ३२ रनमा अविजित रहे।
गण्डकीका चन्द्र पौडेल, सुबास भण्डारी, बिपिन खत्री र सुदिप अर्यालले १-१ विकेट लिए।
त्यसअघि शाहब आलमले पाँच विकेट लिएपछि गण्डकी प्रदेश सामान्य योगफलमा रोकिएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले ३०.३ ओभरमा अलआउट हुँदै ११६ रन बनाएको थियो।