- सन्तोष क्षत्री , बागलुङ ०७४, चैत १२
ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा बागलुङ संचालित पाँचौं धौलागिरि कप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक बागलुङ क्रिकेट क्लबले प्राप्त गरेको छ। बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको पाँचौ धौलागिरि कप क्रिकेटको फाईनल खेलमा राईजिङ क्रिकेट एकेडेमी पोखरालाई ५२ रनले पछि पार्दै उपाधि जितेको हो।
सोमबार बागलुङको बाँगेचौर खेलमैदानमा भएको फाईनल खेलमा टस हारेपछि ब्याटिङको निम्तो पाएको बागलुङ क्रिकेट क्लबले निर्धारित २० ओवरमा ७ विकेट गुमाउँदै १७५ रनको योगफल तयार गर्यो। बागलुङ क्रिकेट क्लबले खराब सुरुवात गरे पनि ओपनर पुरणसिंह ठकुरी र पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका किरण ठगुन्नाबीचको शतकीय साझेदारी पछि सम्मानजनक स्कोर तयार गरेको हो। उनीहरु दुबैले अर्धशतक प्रहार गरे। किरणले ४१ बलमा ६९ रन बनाए भने पुरणसिंहले ४९ बलमा ५२ रनको योगदान गरे। बलिङतर्फ राईजिङका विनय भण्डारीले ३, मुकिल यादव र करण केसीले समान २/२ विकेट लिए। १७६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको राईजिङले पनि मनमौजी सुरुवात गर्न सकेन।
राईजिङको लागि ओपनर करण केसीले २६ बलमा ३८ रन र सातौं नम्बरमा ब्याटिङ गर्न आएका विनय भण्डारीले ३७ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत छुन सकेनन्। राईजिङका ३ जना खेलाडीले खाता नखोली पवेलियन फर्किए। बलिङतर्फ बागलुङका महोमदले ३, विक्की गाजी, विक्रम सोब, किरण ठगुन्नाले समान २/२ विकेट लिए। उपाधि जितेको बागलुङ क्रिकेट क्बलले एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित ट्रफि प्राप्त गर्यो।
उपविजेतामा चित्त बुझाएको राईजिङले ५५ हजार पाँच सय ५५ रुपैयाँ पायो। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका बागलुङ क्रिकेट क्लबका किरण ठगुन्ना म्यान अफ दि सिरिज हुँदै १० हजार नगद प्राप्त गरे। ठगुन्नाले प्रतियोगितामा १४३ रन र ७ विकेट लिए। प्रतियोगितामा ११ विकेट लिएका बागलुङ क्रिकेट क्लबका विक्रम सोब बेष्ट बलर र १९१ रन प्रहार गरेका पुरणसिंह ठकुरी बेष्ट व्याट्सम्यान बन्दै जनही ५/५ हजार प्राप्त गरे। बानपा–५ मालिकाका सुनिल जिसी उदयीमान खेलाडी र अनुशाशित टिम रक-११ स्याङ्जा बने । विजेता र उपविजेता समूहलाई बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले पुरस्कार प्रदान गरेका थिए।