कुशल र आरिफको अर्धशतकसँगै पुलिसको जित

काठमाडौँ । प्रधानमन्त्री कपअन्तर्गत नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हराएको हो।

भैरहवाको एक्सट्राटेक ओभलमा सोमबार सम्पन्न भएको खेलमा २५० को विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो।

लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ७२ रन बनाए। उनले ९४ बलमा ७ चौका र १ छक्का प्रहार गरे। लुम्बिनीका ओपनर ब्याटर मिर्नाल गुरुङले ३० रन बनाए। अर्का ओपनर मनिष थापा भने ४ रन बनाउँदै पेभेलियन फर्किए।

कप्तान देव खनाल ११ रन बनाउँदै ललित राजवंशीको बलमा एलबीडब्ल्यू आउट भए। सालउद्धिन खान १३ रनमा क्याच भए। पुलिसका लागि सागर ढकालले सर्वाधिक ३ विकेट लिए। कप्तान दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान २–२ विकेट लिए। रासिद खान र कुशल भुर्तेलले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रन बनाएको हो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। उनले ७५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। अमित श्रेष्ठले २२ रन बनाउँदा आरिफ शेखले ५६ रन बनाउँदै अर्धशतकीय पारी खेलेका हुन्। दिलीप नाथले ३४ रन बनाए। गुल्सन झा ३५ रन र रासिद खान ४ रनमा अविजित रहे।

लुम्बिनीका लागि कृष्ण कार्की र रमेश कुर्मीले समान ३–३ विकेट लिए। लुम्बिनीले पहिलो खेलमा कोशी प्रदेशलाई हराएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy