- विकेटनेपाल, जेठ २१ – सोमबार
राजधानीमा जारि प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलहरुमा प्रदेश नम्बर ५ र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित दर्ता गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन्।
लालबहादुर अधिकारिको बलिंग र सन्दिप सुनारको आक्रामक ब्याटिंगमा प्रदेश ५ को लगातार दोश्रो जित
मुलपानी मैदानमा भएको खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर ३ लाई डकवर्थ लुइस नियमको आधारमा ३० रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोश्रो जित हात पारेको छ। स्कोरकार्ड
टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश नम्बर ३ ले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभर खेल्दै मात्र १५२ रन बनाउँदा सबै विकेट गुमाएको थियो। उसका लागि भुपेन्द्र थापाले ४६ रन बनाउँदै पहिलो विकेटको लागि जितेन्द्रसिंह ठकुरी (१८ रन) सँग मिलेर ४६ रनको तथा तेस्रो विकेटका लागि आदील खान (१६ रन) सँग मिलेर ४२ रन साझेदारी गरेका थिए। रुपेश श्रीवास्तवले अविजित २१ रन बनाए।
बलिंगतर्फ प्रदेश नम्बर ५ का लालबहादुर अधिकारिले ४ विकेट लिन १० ओभरमा ३३ रन खर्चिए भने कृष्ण कार्की, बिक्रम भुसाल र सन्दिप सुनारले समान २/२ विकेट हात पारे।
जवाफमा लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ ले २०.५ ओभरमा ३ विकेट गुमाएर ८९ रन बनाएको थियो। त्यसपछि बर्षाले गर्दा खेल अगाडीबढ्न सकेन र ३० रनको जित हात पार्यो। उसका लागि रिटायर्ड हर्ट हुनुअघि सन्दिप सुनारले ३८ रन बनाउन मात्र ३५ बलको सामना गरे भने शंकर रानाले १९ तथा कप्तान शक्ति गौचनले अविजित १५ रन बनाए।
बलिंगतर्फ प्रदेश नम्बर ३ का किशोर महतो, अभिषेक झा र सागर ढकालले १/१ विकेट लिए।
एकै इनिंगमा दुई शतक, एपीएफ सेमिफाइनलमा प्रवेश
किर्तिपुर मैदानमा भएको खेलमा सुबास खकुरेल र प्रदीप ऐरीले शतक बनाएपछि एपीएफ क्लबले प्रदेश नम्बर २ बिरुद्द डकवर्थ लुइस नियमका आधारमा ९६ रनको फराकिलो जित हात पारेको छ। स्कोरकार्ड
टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको एपीएफले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३९ रनको बिशाल योगफल तयार पारेको थियो। मात्र व्यक्तिगत ३ रनको स्कोरमा अनिल शाहलाई गुमाएको उसका लागि प्रदीप ऐरी र सुबास खकुरेलले कीर्तिमानीपूर्ण ब्याटिंग गरेका थिए।
खकुरेलले १०३ रन बनाउन १३० बलमा ७ चौका र २ छक्का तथा ऐरीले १५८ रन बनाउन १३५ बलमा १३ चौका र ८ छक्का प्रहार गर्दै दोश्रो विकेटका लागि २३१ रनको साझेदारी गरेका थिए जुन २०७१ को रास्ट्रीय प्रतियोगितामा अनिल मन्डल र महेश छेत्रीको २४७ रनपछीको सर्बाधिक हो। ऐरीले प्रहार गरेको १५८ रन रास्ट्रीय प्रतियोगितामा कुनैपनि खेलाडीले प्रहार गरेको सर्बाधिक हो भने जारि प्रतियोगितामा यो दोश्रो शतक हो, यसअघि राजु खड्काले २०६० सालमा बिरगंजमा सम्पन्न रास्ट्रीय प्रतियोगितामा अविजित १५१ रन बनाएका थिए। यस्तै खकुरेलले प्रतियोगिताको तेस्रो तथा इनिंगको दोश्रो शतक प्रहार गरेका थिए।
ऐरी र खकुरेलले एकै इनिंगमा बनाएको दुई शतक रास्ट्रीय क्रिकेट प्रतियोगितामा दोश्रो हो, यसअघि सिनियर रास्ट्रीय क्रिकेट प्रतियोगिता २०७१ को सेमिफाइनलमा बैतडीबिरुद्द खेल्दै आर्मीका अनिल मण्डल र महेश छेत्रीले एकै इनिंगमा दुई शतक बनाएका थिए।
त्यस्तै पृथु बास्कोटाले अविजित २९ रन बनाउन १४ बल तथा भुवन कार्कीले १६ रन बनाउन ६ बलको सामना गरेका थिए। बलिंगतर्फ प्रदेश २ का दिभांशु मल्लिकले ५ विकेट हात पारेपनि महँगो साबित हुँदै ९ ओभरमा ८४ रन खर्चेका थिए।
जवाफमा लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले १६ ओभरमा हरिशंकर शाहको ३८ र सुरज पटेलको ३४ रनको मद्दतमा बिना कुनै क्षति ६४ रन बनाएको थियो । तर त्यसपछि बर्षा बाधक बन्दा खेललाई २८ ओभरमा झारिएको थियो जहाँ प्रदेश २ ले २०२ रनको लक्ष्य पाएको थियो। त्यसपछि लगातार विकेट गुमाउँदा २८ ओभरमा ९ विकेट गुमाएर १०५ रनमात्र बनाउन सक्यो।
बलिंगतर्फ एपीएफका बसन्त रेग्मीले ३ विकेट लिन १० रन तथा करण केसीले पनि समान ३ विकेट लिन ३० रन खर्चेका थिए। यस्तै रोहित पौडेल, भुवन कार्की र कमलसिंह ऐरीको नाममा १/१ विकेट रह्यो।