इटहरी आदर्श जायन्ट्सको आयोजनामा कोशी प्रदेशस्तरीय दोस्रो अन्तरकलेज टी-२० क्रिकेट प्रतियोगिता २०८१ पुष २२ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ।
प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १० कलेजका टोलीले सहभागिता जनाउनेछन्। नकआउट फर्म्याटमा हुने प्रतियोगिताको खेलहरु इटहरी स्थित जनता क्रिकेट पार्क, डिभीएममा हुनेछ। सुन्सरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग रहने प्रतियोगिता ड्युस बलले खेलिने आयोजकले बताएको छ।
प्रतियोगितामा सहभागी हुने टोलीहरूमा कोशी सेंट जेम्स कलेज इटहरी, नमुना कलेज इटहरी, विश्व आदर्श कलेज इटहरी, सुष्मा गोदावरी कलेज इटहरी, जनता मल्टिपल क्याम्पस इटहरी, आस्था कलेज दमक, कोशी मल्टिपल क्याम्पस विराटनगर, महेन्द्र मोरङ क्याम्पस विराटनगर, पुर्वाञ्चल इन्जिनियरिङ कलेज धरान, र कान्तिपुर कलेज विराटनगर छन्।
प्रतियोगिताको उद्घाटन खेल पुष २२ गते बिहान ९ बजे आस्था कलेज दमक र कोशी मल्टिपल क्याम्पस विराटनगर बीच हुनेछ। सेमिफाइनल खेलहरू पुष २५ गते, र फाइनल खेल पुष २६ गते बिहान १० बजे आयोजना हुनेछ।
यो प्रतियोगिताले कोशी प्रदेशका कलेजहरू बीचको क्रिकेट प्रतिभालाई उजागर गर्दै खेलकुदको माध्यमबाट शैक्षिक क्षेत्रलाई समेत प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।