- विकेटनेपाल, बैशाख-१८
अन्तर-प्रदेश मनमोहन मेमोरियल अन्डर-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाडौँमा सुरु भएको छ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत पहिलो दिन प्रदेश-३ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्यो।
टियु मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको गण्डकी प्रदेशले निर्धारित ३० ओभरको खेलमा २७.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो।
प्रदेश-३ का बलर अजय देभ एक्लैले ६ विकेट हात पार्दै गण्डकीको ब्याटिंग लाइन अप धरासायी पारे। देभले ५.५ ओभरमा २४ रन खर्चे।
१८ ओभर सम्म ६४/२ को राम्रो अवस्थामा रहेको गण्डकीले त्यसपछि लगातार विकेट गुमाउने क्रममा थप ३५ रन जोड्दा बाँकी ८ विकेट गुमाउन पुग्यो। ओपनर तथा यु-१६ राष्ट्रिय क्रिकेटर अर्जुन कुमालले १६, अभिशेक थापाले २२ तथा अनित बरालले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
१०० रनको लक्ष्य पाएको प्रदेश-३ ले १६.५ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। यु-१६ राष्ट्रिय क्रिकेटर अइस भट्टराईले अविजित ५९ तथा अभिषेक उपाध्यायले अविजित ३५ रन बनाउदै टिमलाई सहज जित दिलाए। अइसले ५७ बलमा ६ चौका तथा अभिषेकले ३५ बलमा ४ चौका प्रहार गरे। दुवैले तेश्रो विकेटको लागि १०१ रनको अविजित साझेदारी गरे।
खेलको प्लेयर अफ द म्याच अजय देभ चुनिए।
प्रतियोगिता अन्तर्गत बिहिबार २ खेल हुनेछन्। पहिलो खेलमा कर्णाली प्रदेश र प्रदेश-३ तथा दोश्रो खेलमा गण्डकी प्रदेश र प्रदेश-७ ले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता बैशाख १८ देखी २४ गते सम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाईएको छ । दुई समूह मध्येका शीर्ष दुई टोली सेमिफाईनलमा प्रवेश गर्ने छन् । समूह ‘ए’ मो प्रदेश ७, गण्डकी प्रदेश, प्रदेश ३ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा प्रदेश २, प्रदेश १ र प्रदेश ५ रहेका छन्।
प्रतियोगिताको विजेता टोलीले ५ लाख प्राप्त गर्ने छ । विजेताले २ लाख ५० हजार नगद साथै २ लाख ५० हजारको खेलकुद सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उप विजेता टोलीले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पाउने आयोजकले जनाएको छ ।