ओझेलमा नेपाली महिला क्रिकेट

Nepal womens cricket team
  • विकेटनेपाल – २७ साउन, आईतबार 

सन् २००७ मा मलेसियामा आयोजना भएको ‘एसियन क्रिकेट काउन्सिल महिला’ प्रतियोगिताबाट नेपाली महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरुवात गरेको थियो। पहिलो प्रतियोगितामानै फाइनलसम्मको यात्रा तय गर्नु सहज पक्कै हुन्न तर नेपाल सो प्रतियोगितामा उप-बिजेता बन्दै अन्तर्राष्ट्रिय महिला क्रिकेटमा आफ्नो छाप छोड्न सफल रह्यो।

अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको झन्डै एक बर्षपछि सन् २००८ मा महिला क्रिकेट टोलीले अर्को सफलता हात पार्यो। नेरी थापाको कप्तानीमा रहेको नेपाली यु-१९ महिला टोलीले थाइल्याण्डमा सम्पन्न एसीसी यु-१९ महिला च्याम्पियनशिपको उपाधि जित्न सफल भयो। सन् २०१० मा सम्पन्न त्यसै प्रतियोगिताको अर्को संस्करणमा नेपालले उपाधि रक्षा गर्न सफल रह्यो र लगातार दोस्रो पटक नेरीको कप्तानीमा एसीसी यु-१९ महिला च्याम्पियन बन्यो। त्यसपछि सन् २०१२ को संस्करणमा समेत यु-१९ महिला टोलीले यो प्रतियोगिताको उपाधि उचाल्दै उपाधिमा ह्याट्रिक गर्यो।

Nepal beat Malaysia in the final match (ACC U19 Womens Championship). Photo : ACC

नेरी थापा, रुबिना क्षेत्रि, सिता राना मगर, सरिता मगर, सोनु खड्का, रोशनी बोहोरा आदि प्रतिभावान खेलाडीको प्रेरणामा नेपाली महिला टोलीले एक माथि अर्को सफलता आफ्नो नाम गर्न थालिसकेको थियो।

सन् २००९ मा मलेसियामा आयोजना भएको एसीसी महिला टि-२० प्रतियोगितामा सिंगापुर बिरुद्धको खेलमा नेपाल हारको संघारमा आइपुगेको थियो। ८० रनको लक्ष्य पछ्याएको सिंगापुरलाई अन्तिम ओभरमा जितका लागि मात्र २ रन आवश्यक रहंदा रुबिना क्षेत्रीलाई अन्तिम ओभर बलिंग गर्ने जिम्मा दिइयो।

चमत्कारिक नतिजा निकाल्न रुबिनाले एकै ओभरमा ५ विकेट लिईन्। तर एक बल वाइडको रुपमा फालेपछि खेल बराबरी हुनपुग्यो र नेपालले अन्त्यमा बल-आउटमार्फत खेल जित्यो। त्यसै खेलबाट रुबिना अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली महिला क्रिकेटर बनेकी थिइन्। सो जितपछि सिंगो क्रिकेट दुनियाँमा नेपाली महिला क्रिकेटको चर्चा अझ चुलिन पुग्यो। तत्कालिन पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान बिनोद दासले सो जितपछि आफुले कुनैपनि टोलीले अन्तिम ओभरमा ५ विकेट लिएर खेल जितेको नसुनेको बताएका थिए।

rubina chhetry
Rubina Chhetry

त्यसपश्चात नेपालले सन् २०१०/११ मा आयोजित एसियन खेलकुद अन्तर्गत महिला क्रिकेटमा सहभागिता जनाएको थियो। त्यस प्रतियोगितामा समूह चरणबाट माथि उठ्न सकेन। सन् २०११ फेब्रुअरी ७ तारिखका दिन कुबेतमा भएको एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत थाइल्याण्ड बिरुद्द ह्याट्रिक लिंदै महिला क्रिकेटर करुणा भण्डारी एकपटक पुन चर्चामा आइन्। यस्तै सन् २०१७ मा थाइल्याण्डमा सम्पन्न महिला टि-२० बिश्व कप क्रिकेट एसियाली छनोट प्रतियोगितामा नेपाली बलर सबनम राईले ह्याट्रिक लिंदै अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने तेस्रो नेपाली महिला बनिन्।

सन् २०१२ को महिला एसिया कप, २०१४ को एसियाली खेलकुद, २०१६ को महिला विश्वकप एसियाली छनौट, महिला एसिया कप हुँदै सन् २०१७ को महिला विश्वकप एसियाली छनौटसम्म आइपुग्दा नेपाली महिला टोलि बिस्तारै खस्कंदै आयो। बिशेष गरेर सन् २०१६ महिला एसिया कपमा नेपालको प्रदर्शन सम्झन लायक रहन सकेन।

sita rana magar
Sita Rana Magar

अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको छोटो समयमानै ठूला उपलब्धि हात पारेपनि नेपाली महिला क्रिकेटले पछिल्ला केहि बर्षमा अध्याँरो बाटोको यात्रा गरिरहेको छ। घरेलु संचरनाको अभाव, योजना बिहिन क्रिकेट संघ जस्ता बिबिध कारणले गर्दा नेपाली महिला क्रिकेटले आफ्नो स्तर माथि उठाउने मौका कमै पाएको छ। सरकारी क्षेत्रबाट बर्षमा एकपटक आयोजना हुने महिला क्रिकेट प्रतियोगिताले मात्र खेलाडी उत्पादन र सबर्द्धनमा पर्याप्त टेवा पुगेको छैन। देशमा पुरुष क्रिकेटभने बिस्तारै व्यवसायिकतातर्फ ढल्कँदै गर्दा कुनै समय पुरुष क्रिकेटले भन्दा धेरै उपाधि उचालेको नेपाली महिला क्रिकेट भने ओझेलमा पर्दै कुनै दिन हराउनेपो हो की भन्ने त्रास उत्पन्न भैसकेको छ।

एसियाली सेरोफेरोमा केहि बर्ष अघिसम्म समान स्तरमा रहेको थाइल्याण्डले महिला एसियाकपमा श्रीलंकालाई हराउँदा नेपाली महिला क्रिकेट खेलाडी भने सोहि जितको प्रशंसा गर्न बाहेक केहि गर्न सक्ने अवस्थामा थिएनन्। समय समयमा उत्पन्नहुने किचलो, क्रिकेट संघको निलम्बन र सहयोगी क्षेत्रको अभावमा नेपाली महिला क्रिकेट यतिबेला दोबाटोमा रुमलिएको यात्री बनेको छ। केहि निजि क्षेत्र र राष्ट्रिय टोलीको लागि खेलिसकेका खेलाडीको सक्रियतामा पछिल्लो केहि समय साना ठुला प्रतियोगिता आयोजना भएपनि महिला क्रिकेटको दयनीय रुप टर्न सकेको छैन।

अवस्था यति खराब छ कि लामो समयमदेखि राष्ट्रिय महिला टोलीको प्रतिनिधित्व गर्दै आएका खेलाडीलाई समेत अब नेपाली महिला टोलीले अर्को प्रतियोगिता कहिले खेल्न पाउंछ भने जानकारी छैन। संगै प्रतिस्पर्धी रहेका अन्य देशका टोलीहरु लगातारको अभ्यास, घरेलु र अन्य बाहिरी देशका प्रतियोगितामा सहभागी बनिरहँदा नेपाली महिला टोलीका धेरै खेलाडीहरु के गर्दैछन् भन्ने जानकारी कमैलाई मात्र होला। नेपालको लागी यु-१९ स्तरमा प्रतिनिधित्व गरिसकेकी खेलाडी आरति बिंडारीको नेतृत्वमा स्थापित राइजिङ्ग क्रिकेट फर वुमेन लगायत केहि अन्य संस्थाले महिला क्रिकेटको स्तरवृद्धिकालागि काम गरेपनि एक्लो प्रयासले महिला क्रिकेटको समस्या समाधान नहुने निश्चित प्रायनै छ।

आरति बिडारीको अग्रसरतामा स्थापित राइजिंग क्रिकेट फर वुमेन (आर.सी.डब्लु) जस्तो संस्थाले संस्थागत तवरमा प्रतियोगिता आयोजना गर्दै र शशस्त्र प्रहरी बल (एपीएफ) ले महिला क्रिकेटरहरुलाई जागिर दिएर योगदान अवस्य दिएका छन्। तर महिला क्रिकेटको विकासको लागि पर्याप्त पहलको अझ धेरै आवस्यकता छ।

पुरुष क्रिकेटलाई झैं महत्व दिएर सरकारी र अन्य क्षेत्रबाट समेत पर्याप्त लागानी र सहयोग प्रदान गर्नेहो भने महिला क्रिकेटले ठूलो उचाई हाँसिल गर्ने तथ्य त यसअघिका उपलब्धिलेनै प्रस्ट पारीसकेका छन्। घरेलु क्रिकेट संरचना अझ मजबुत बनाएर धेरैभन्दा धेरै अभ्यासको लागि वातावरण जुटाउने, स्थायी प्रशिक्षकको व्यवस्था गर्दै महिला क्रिकेटरलाई नियमित प्रशिक्षण गराउने हो भने नेपाली महिला क्रिकेटले सुरुवाती दिनमा पाएको भन्दा अझ धेरै सफलता पाउने सपना देख्न सकिन्छ। अन्तर्राष्ट्रिय क्षेत्रमा महिला क्रिकेटको महत्व र क्रेज बढ्दै जाँदा हाम्रो महिला क्रिकेटको स्तर किन खस्कियो भन्ने प्रश्नको जवाफ खोज्नु पहिलो प्राथमिकता रहेको छ। त्यसैले अब सरकारी क्षेत्र र अन्य सम्बन्धित निकायले पनि नेपाली महिला क्रिकेटको श्रीवृद्धिका लागि जुट्ने कदम चाल्न तर्फ सोच्ने पो हो कि ?





थप समाचार

दिल्लीद्वारा मुम्बई पराजित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । घरेलु […]

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]

कोलकातामाथि पञ्जाबको ऐतिहासिक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्समाथि पञ्जाब किंग्सले ऐतिहासिक जित हात पारेको […]