कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर

सन् १९९६ सेप्टेम्बर ६ तारिखको दिन नेपाली राष्ट्रिय क्रिकेट टिमले मलेसियामा आयोजित एसीसी ट्रफी प्रतियोगिता खेल्दै आधिकारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको थियो। सोहि वर्ष नेपाललाई आईसीसीले एसोसिएट राष्ट्रको मान्यता दिएपछि पहिलो पटक नेपालले विश्व क्रिकेटमा पाइला चालेको थियो। नेपालको प्रदर्शन उक्त प्रतियोगितामा खास नरहेता पनि बिभिन्न कारणले उक्त भ्रमण ऐतिहासिक रहेको छ।

उक्त प्रतियोगितामा नेपाल सहित कूल १२ राष्ट्र सहभागी रहेका थिए। नेपाल रहेको समूहमा बंगलादेश, ब्रुनाई, फिजी, हंगकंग र जापान रहेको थियो। पहिलो खेलमा बंगलादेशसंग पराजित भएको नेपालले दोश्रो खेलमा जापान बिरुद्ध ८ विकेटले खेल जित्दै पहिलो ऐतिहासिक जित दर्ता गरेको थियो। ब्रुनाईलाई पराजित गरेको नेपालले हंगकंग र फिजीसंग हार बेहोर्दा पहिलो चरणबाट बाहिरिनुपरेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिम ( १९९६ )

उक्त प्रतियोगितामा नेपालको १४ सदस्यीय टिमले सहभागिता जनाएको थियो जसको प्रशिक्षक सुनोज भट्टराई रहेका थिए। नेपाली टिम उत्तम कर्माचार्यको कप्तानीमा उत्रेको थियो। टिमका अन्य सदस्यहरुमा गणेश शाही,  मनिषराज पाण्डे, संजय गुरुङ, जगत टमाटा, राजु खड्का, किरण राणा, पुकार पन्त, एलबि क्षेत्री, मुसरफ इजहार, पवन अग्रवाल, बसन्त शाही, रितेश बराल र बिशाल गुप्ता रहेका थिए।

नेपालले डेब्यु प्रतियोगिता खेल्दा टिममा रहेका १४ सदस्यहरु मध्ये गणेश शाहीको ८ वर्ष अघि निधन भैसकेको छ। अधिकांश अन्य सदस्यहरु बिभिन्न रुपमा नेपाली क्रिकेटसंग जोडिएका छन्।

१. उत्तम कर्माचार्य : प्रतियोगितामा नेपालको कप्तानी गरेका कर्माचार्य माथिल्लो क्रममा ब्याटिंग गर्ने गर्थे। दायाँ हाते ब्याट्सम्यान धनुषा जिल्लाबाट घरेलु क्रिकेट खेल्ने गर्थे। त्यसताका राम्रा ब्याट्सम्यान मध्येका कर्माचार्यले जनकपुर चुरोट कारखाना ( जेसीएफ ) टिमको पनि प्रतिनिधित्व गर्थें। उनले जनकपुर चुरोट कारखानामै काम पनि गरे। यस अघि नेपाल क्रिकेट संघमा पनि सक्रिय रुपमा आवद्ध कर्माचार्य हाल काठमाडौँमा व्यवसाय गरिरहेका छन्।

बायाँ बाट क्रमशः एलबि क्षेत्री, रितेश बराल, जगत टमाटा, उत्तम कर्माचार्य, राजु खड्का र बसन्त शाही

गणेश शाही : १९९६ मा नेपाली टिमको सदस्यहरु मध्ये शाहीमात्र हाल जीवित छैनन्। ८ वर्ष अघि उनको क्यान्सरका कारण निधन भएको थियो। शाहीलाई नेपाली क्रिकेट इतिहासकै सबैभन्दा राम्रो विकेटकिपर मानिन्छ। उनको विकेटकिपिंगको १९९६ एसीसी ट्रफीमा पूर्व भारतीय क्रिकेटर कृष्णमाचारी श्रीकान्तले पनि तारिफ गरेका थिए। दायाँ हाते ब्याट्सम्यान घरेलु क्रिकेटमा ओपनिंग ब्याटिंग गर्थे। टि-२० क्रिकेट सुरुवात नभइसकेको बेला शाहीले त्यसैको झल्को दिनेगरि आक्रामक ब्याटिंग गर्दथे। त्यसबेला शाही फास्ट बलरलाई हेल्मेट बिना स्टम्पको नजिक बसेर किपिंग गर्दथे। बाँकेबाट घरेलु क्रिकेट खेलेका शाही क्रिकेट छोडेपछि भारत लखनउमा व्यापार गरे। ४० वर्षको उमेरमा संसार छाडेका शाहीले सन् २००१ को आईसीसी ट्रफीमा नेपालको कप्तानी समेत गरेका थिए।

बसन्त शाही : बसन्त शाही १९९६ ट्रफीमा नेपालको तर्फबाट सर्वाधिक विकेटकर्ता रहेका थिए। नेपालको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिने बलर शाहीनै हुन् जसले बंगलादेशका ब्याट्सम्यान शाहरियर हुसेनलाई क्याच आउट गराएर इतिहास रचेका थिए। दायाँ हाते ओपनिंग फास्ट बलर राम्रो स्विंग बलिंग गर्ने गर्थे। रुपन्देहीका शाही क्रिकेट करियर पछि प्रशिक्षकको रुपमा सक्रिय रहेका छन्। उनको प्रशिक्षणमा नेपालले सन् २ पटक एसीसी यु-१६ को उपाधि समेत जित्न सफल भएको थियो।

पवन अग्रवाल : प्रतियोगितामा नेपालको लागि ओपनिंग ब्याटिंग गरेका अग्रवाल अफ स्पिन बलिंग पनि गर्ने गर्थे। बारा, कलैयाका अग्रवाल लामो इनिंग खेल्न सक्ने ब्याट्सम्यानको रुपमा चिनिन्थे। अग्रवालनै नेपालको लागि पहिलो अर्धशतक बनाउने खेलाडी समेत हुन्। उनले ब्रुनाईसंगको प्रतियोगिताको चौथो खेलमा ८० रन बनाउदै पहिलो अर्धशतक बनाउने नेपाली खेलाडीको अटुट कीर्तिमान कायम गरेका थिए। अग्रवालले त्यसपछि सन् २००० को एसीसी ट्रफीमा नेपालको कप्तानी समेत गरे। क्रिकेट करियर पछि बैंकिङ क्षेत्रमा कार्यरत अग्रवाल त्यसपछि केहि समय नेपाल क्रिकेट संघमा पनि आवद्ध रहेका थिए। उनि क्रिकेट खेलाडी संघ नेपालको ( सीप्यान ) पहिलो अध्यक्ष पनि हुन्।

पवन अग्रवाल र मनिषराज पाण्डे। अग्रवालले पहिलो अर्धशतक बनाएका थिए भने पाण्डे पहिलो म्यान अफ द म्याच घोषित भएका थिए

किरण राणा : घरेलु क्रिकेटमा काठमाडौँको प्रतिनिधित्व गर्ने राणा फास्ट बलर थिए। ओपनिंग बलिंग गर्ने राणा घरेलु क्रिकेटमा तत्कालिन समयमा राम्रो नाम भएका खेलाडी थिए। उनको बलिंग याक्सन फरक रहेको थियो। अहिले लासिथ मालिंगाले जस्तो साइड आर्मबाट बल फाल्ने गर्थे। राणा टंक आंगबुहांग क्यानको अध्यक्ष रहंदा क्रिकेट संघको सदस्य रहेका थिए। हाल उनि काठमाडौँमै आफ्नै व्यवसायमा संलग्न छन्।

मनिष राज पाण्डे : नेपालको लागि प्रतियोगितामा ओपनिंग ब्याटिंग गरेका पान्डे दायाँ हाते ब्याट्सम्यान तथा फास्ट बलर समेत थिए। मोरङका खेलाडी पाण्डे नेपालको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो म्यान अफ द म्याच चुनिएका खेलाडी समेत हुन्। उनि जापान बिरुद्ध नेपालले पहिलो अन्तर्राष्ट्रिय जित हात पार्दा म्यान अफ द म्याच चुनिएका थिए। उनले उक्त खेलमा २७ रन बनाउनुको साथै १ विकेट पनि लिएका थिए। पीएचडी डाक्टर पाण्डे हाल क्रिकेट खेलाडी संघ नेपाल ( सीप्यानका ) अध्यक्षको रुपमा पनि सक्रिय रहेका छन्। यस्तै पाण्डे राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत समेत हुन्।

राजु खड्का : राजु खड्कालाई नेपाली क्रिकेटमा अहिलेसम्मकै उत्कृस्ट अलराउन्डरको रुपमा चिनिने गरिन्छ। सन् २००३ मा भुटान बिरुद्ध शतक बनाउदै शतक बनाउने पहिलो नेपाली ब्याट्सम्यानको कीर्तिमान बनाएका खड्का तत्कालिन नेपाली टिमको सबैभन्दा तिब्र गति बलर थिए भने मध्यक्रममा विस्फोटक ब्याटिंग समेत गर्ने गर्थे। नेपाली टिमको २००२ र २००४ एसीसी ट्रफीमा कप्तानी समेत गरेका खड्का हाल प्रशिक्षकको रुपमा चितवन केन्द्रित रहेर कार्यरत रहेका छन्। उनलाई सन्दिप लामिछानेको प्रशिक्षकको रुपमा पनि चिनिन्छ। उनलेनै सन्दिपलाई चितवन क्रिकेट एकेडमीमा प्रशिक्षण दिएका थिए।

म्यान अफ द म्याच चुनिएका पहिलो नेपाली खेलाडी मनिष राज पाण्डे ट्रफीसंग

एलबि क्षेत्री : बायाँ हाते स्पिनर तथा तल्लो क्रममा ब्याटिंग गर्ने क्षेत्रीले १९९८ मा नेपाली टिमको कप्तानी सम्हाले। बाँकेको प्रतिनिधित्व गर्ने राम्रो अलराउन्डर क्षेत्रीसंग कलकत्ताबाट क्रिकेट खेलेर आएको अनुभव थियो। आफ्नो क्रिकेट जीवनमा आधारित रहेर केहि समय अघि मात्रै क्षेत्रीले ‘कप्तान’ नामक किताब समेत लेखेका थिए जसमा उनले नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता लगायत बिभिन्न अनुभव समेटेका छन्। क्षेत्रीलाई नेपालमा महिला क्रिकेट सुरुवात गर्ने श्रेय समेत जाने गर्छ। २००७ मा नेपालले पहिलो महिला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु अघि उनले बाँकेमा क्रिकेट टिम तयार गरेका थिए जुन टिमको अधिकांश खेलाडीलेनै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। सामाजिक कार्य तथा क्रिकेटमा पनि सक्रिय क्षेत्री शिक्षण पेशामा आबद्ध रहेका छन्।

मुसरफ इजहार : पर्सा, बिरगंजका त्यसबेलाका उत्कृस्ट क्रिकेटर मध्येका इजहार अफ स्पिनर तथा मध्यक्रम ब्याट्सम्यान थिए। हाल आफ्नै व्यापारमा व्यस्त इजहर २०१२-१३ मा नेपाली क्रिकेट टिमको प्रमुख छनौटकर्ताको जिम्मेवारीमा थिए।

संजय गुरुङ :  दायाँ हाते ब्याट्सम्यान गुरुङले १९९६ एसीसी ट्रफीमा ओपनिंग तथा तेश्रो नम्बरमा ब्याटिंग गरे। नेपालले जापान बिरुद्ध ऐतिहासिक पहिलो जित दर्ता गर्दा गुरुङले ओपनिंग ब्याटिंग गर्दै २० रन बनाउने क्रममा मनिष राज पाण्डेसंग पहिलो विकेटको लागि ४८ रनको साझेदारी गरेका थिए। रुपन्देहीको प्रतिनिधित्व गरेका गुरुङ नेपाली राष्ट्रिय टिमको पनि प्रतिनिधित्व गरेका एक मात्र अम्पायर हुन्। गुरुङले सन् २००९ मा सिंगापुरमा आईसीसी डिभिजन-६ प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा अम्पायरिङ्ग डेब्यु गरेका थिए। अहिले पनि एसीसी तथा नेपालमै आयोजना हुने ठूला घरेलु क्रिकेट प्रतियोगिताहरुमा गुरुङ सबैभन्दा सक्रिय र राम्रो अम्पायरको रुपमा चिनिने गर्छन्। त्यसबाहेक गुरुङ शिक्षण पेशासंग समेत आवद्ध रहेका छन्। यस्तै उनि नेपाल क्रिकेट संघ प्रदेश-५ तथा रुपन्देही जिल्ला क्रिकेट संघका सचिव समेत हुन्।

रुपन्देहीबाट राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका ४ खेलाडीहरु। बायाँबाट क्रमशः बसन्त शाही, राजु खड्का, सन्जय गुरुङ र जगत टमाटा

जगत टमाटा : राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउनु अघि हकी राष्ट्रिय टिमका समेत सदस्य रहेका टमाटाले त्यसबेला घरेलु क्रिकेट रुपन्देहीबाट खेलेका थिए। टमाटा अफस्पिन बलिंग गर्ने गर्थे भने तल्लो क्रममा राम्रो ब्याटिंग समेत गर्ने गर्थे। एसीसी ट्रफी अघि जय ट्रफीमा टमाटाले मोरङ बिरुद्धको खेलमा उत्कृस्ट ब्याटिंग गर्दै अर्धशतक बनाएका थिए जुन इनिंगले रुपन्देहीलाई असम्भव जस्तो देखिएको खेल जिताएको थियो। क्वार्टरफाइनल जस्तो महत्वपूर्ण खेलमा सोहि प्रदर्शनको बलमा टमाटा राष्ट्रिय टिममा पुगेका थिए। खेल जीवन पछि टमाटाले नेपाली राष्ट्रिय टिमको मूख्य प्रशिक्षकको रुपमा पनि काम गरे। पुबुदु दासानायकेको कार्यकाल पछि टमाटाले २०१६ देखि २०१९ सम्म उक्त जिम्मेवारी निभाए। अहिले पनि टमाटा प्रशिक्षणमै व्यस्त छन् र राष्ट्रिय खेलकुद परिषदमा कार्यरत रहेका छन्।

पुकार पन्त : माथिल्लो क्रममा ब्याटिंग गर्ने पन्त तत्कालिन समयमा घरेलु क्रिकेटका राम्रो ब्याट्सम्यानमा गनिने गर्थे। काठमाडौँको प्रतिनिधित्व गर्दै उनले जय ट्रफीमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाएका थिए। हाल काठमाण्डौमै बसोबास बस्ने पन्त शिक्षा क्षेत्रमा कार्यरत रहेका छन्।

रितेश बराल : धनुषाको प्रतिनिधित्व गर्ने बराल तत्कालिन समयमा राम्रो बायाँ हाते फास्ट बलर रहेका थिए। हाल उनि काठमाडौँमै व्यापार गरिरहेका छन्।

विशाल गुप्ता : दायाँ हाते फस्ट बलर विशाल गुप्ता १९९६ एसीसी ट्रफीको टिममा रहेता पनि कुनै पनि खेल खेल्न नपाउने एक मात्र सदस्य रहे। पर्साबाट घरेलु क्रिकेट खेलेका गुप्ता हाल बिरगंजमा आफ्नै व्यवसाय गरिरहेका छन्। सो प्रतियोगिता पछि गुप्ता क्रिकेटबाट गुमनाम जस्तै रहेका छन्।

यो पनि पढ्नुस :-

२४ वर्ष अघि आजकै दिन नेपाली क्रिकेट टिमले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो

प्रदिप ऐरीको सम्झनलायक १० प्रदर्शन

सुबास खकुरेलको ९ उत्कृस्ट ब्याटिंग प्रदर्शन





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]