पीएम कप : बागमती र कर्णाली विजयी

२०८१ चैत्र ४, मंगलवार २१:०६

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल गरेका छन्।

रुपन्देहीको सिद्धार्थनगरमा मंगलबार सम्पन्न खेल बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो।

बागमतीले दिएको २८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २१९ रनमा अलआउट भयो।

गण्डकीका लागि वंश क्षेत्रीले ५५ रन बनाए भने समीर कँडेलले २६ रनको योगदान दिए।

बलिङमा बागमतीका इशान पाण्डेले ४ विकेट लिए। प्लेयर अफ दि म्याच पाण्डेले ६ ओभरमा २७ रन दिए। साकार गजुरेलले २ विकेट लिँदा रिजन ढकाल, गौतम केसी र सूर्य तामाङले १/१ विकेट हात पारे।

टस जितेको गण्डकीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीले तीन ब्याटरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २८८ रन बनायो।

बागमतीका लागि इशान पाण्डेले ६९ रन, शुभ कंसाकारले ५२ रन र विपिन आर्चायले नटआउट ६३ रन बनाए।

बलिङमा गण्डकीका अर्जुन कुमालले ४ विकेट लिए। उनले सात ओभरमा १ मेडन राख्दा ४० रन दिए। विपिन खत्री र सुवास भण्डारीले २/२ विकेट लिए।

जितेसँगै बागमतीले पाँचमध्ये दोस्रो खेलमा जित निकाल्न सफल भयो। गण्डकी भने पाँचमध्ये चार खेलमा पराजित भइसकेको छ।

यस्तै, अर्को खेलमा रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको खेलमा कर्णालीले कोशी प्रदेशमाथि १२७ रनको जित निकाल्यो।

कर्णालीले दिएको २१९ रनको लक्ष्य पछ्याएको कोशी ९१ रनमा अलआउट भयो। कोशीका लागि ओपनर चिराग साहले सबैभन्दा बढी २५ रन बनाए।

बलिङमा कर्णालीका सुनील धमला र दीपेन्द्र रावतले ३/३ विकेट लिए। दिवान पुनको नाममा २ विकेट रह्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले अर्जुन घर्तीको नटआउट ८८ रनको मद्दतमा ९ विकेटको २१८ रन बनायो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy