उद्घाटन खेलमा साई ग्लोबलको जित

  • विकेटनेपाल- भैरहवा, ३ चैत ।

रुपन्देही क्रिकेट संघको आयोजनामा शशिकान्त-सकुन्तला बर्मा टि-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। स्थानीय सिद्धार्थ रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब भैरहवाले गोलपार्क क्रिकेट क्लब बुटवललाई ३२ रनले हराउँदै लिग चरणमा प्रवेश गरेको छ।

टस जितेर पहिला ब्याटिङ गर्दै साई ग्लोबलले निर्धारित २० ओभरको खेलमा पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । साईग्लोबलका लागि रुपेश बास्तोलाले २४, अजय रसाइलीले २२ र अभिषेक ढकालले नटआउट २० रनको योगदान दिए । गोलपार्कका लागि राजेश थापाले ३, विनित पौडेल र सरण रसाइलीले समान २-२ विकेट लिए ।

प्रतिउत्तरमा मैदानमा उत्रेको गोलपार्कले पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय १७ रन मात्र बनाई हार बेहोर्यो । गोलपार्कका लागि विनित पौडेलले नटआउट ३८, अरविन्द सारुले ३२ रन बनाए । साई ग्लोबलका लागि रुपेश बास्तोलाले २ विकेट लिए । खेलको म्यान अफ द म्याच साई ग्लोबलका रुपेश बास्तोला घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।


प्रतियोगितामा शुक्रबार दुईवटा खेल हुनेछन् । जसमा पहिलो खेल लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र बुद्ध क्रिकेट क्लब भैरहवाबीच हुनेछ भने देस्रो खेल वेस्टर्न क्रिकेट क्लब बुटवल र ज्ञानोदय क्रिकेट क्लब करहियाबीच हुने आयोजकले जनाएका छन् ।

प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५/५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत १२ गतेसम्म संचालन हुने छ ।

प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्माले आफ्नो स्वर्गीय आमा-बुवाको नाममा प्रायोजन गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पुर्याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् ।

खेलपूर्व एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गा क्षेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा विभिन्न क्लबका अध्यक्षहरु, खेलाडी, खेलप्रेमी, स्थानीय, विभिन्न विद्यालयका प्रचार्यहरु, अम्पायरहरु, रुपन्देही क्रिकेट संघका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy