ओपनर सञ्जय श्रेष्ठले मात्र ४३ बलमा शतक बनाएपछि दोश्रो खेलमा भ्रमण टोलि कुवेतको भेट्रान्स टिम कुवेत बादशाह क्रिकेट क्लबलाई ४३ रनले पराजित गर्दै नेपाल भेट्रान टिमले सिरिज १-१ को बराबरी गरेको छ। तिन खेलको सिरिज अन्तर्गत पहिलो खेलमा हिजो कुवेत टिम ४ विकेटले विजयी भएको थियो।
टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा पहिले ब्याटिंग गरेको नेपाल भेट्रान टिमले २० ओभरमा १ विकेट मात्र गुमाएर २६० रनको विशाल योगफल तयार गरेको थियो।
नेपालको लागि ओपनर सञ्जय श्रेष्ठले शतकीय योगदान दिने क्रममा १३९ रन बनाए जुन क्रममा उनले मात्र ४३ बलमा शतक पुरा गरेका थिए। यस्तै शतकबाट ३ रनले चुकेका अर्का ओपनर कृतार्थ शाक्यले अविजित ५२ बलमा ९७ रन बनाए। सुमन उदय १३ रनमा अविजित रहे। सञ्जय र कृतार्थले २१२ रनको ओपनिंग साझेदारी गरेका थिए।
लक्ष्य पछ्याउने क्रममा कुवेतले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनायो। उसको लागि अदिथ कुमाराले ७१, मुहम्मद हफिजले ३८ तथा समिर भट्टीले अविजित २६ रन बनाए। नेपालको बलिंगमा उनील श्रेष्ठ र उदय थापाले २/२ विकेट तथा खिम थापा, रिकेश लामा र राजु बस्नेतले १/१ विकेट लिए।
सिरिजको तेश्रो तथा निर्णायक खेल सोमबार खेलिनेछ।
पहिलो पटक नेपाली भेट्रान्स क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलीरहेको हो।