U19 National : लुम्बिनी र सुदूरपश्चिम फाइनलमा

लगातार दोश्रो वर्ष अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको उपाधिको लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रतियोगिताको लिग चरणको खेल शनिवार सम्पन्न भएको छ जसमा समुहको पहिलो स्थानमा रहँदै सुदूरपश्चिम र दोश्रो स्थानमा रहँदै लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाएको हो। उपाधिको लागि लुम्बिनी र सुदूरपश्चिम बीच सोमबार प्रतिस्पर्धा हुनेछ।

अघिल्लो वर्ष पनि दुवै टिमले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए जसमा लुम्बिनी प्रदेशले उपाधि जितेको थियो। सुदूरपश्चिमले लिग चरणको सबै ६ खेल जित्दा लुम्बिनी प्रदेशले ५ जित र १ हार बेहोर्यो।  लुम्बिनीको जितले ६ खेलमा ४ जित हात पारेको बागमती प्रतियोगिताबाट बाहिरिएको छ। अंकतालिका हेर्नुस 

गर या मरको खेलमा लुम्बिनीको जित 

फाइनल पुग्न जित्नु पर्ने खेलमा लुम्बिनीले मधेशलाई ५८ रनले हरायो। लुम्बिनीले दिएको २२३ रनको लक्ष्य पछ्याएको मधेशले ४५.४ ओभरमा १६४ रनमा सबै विकेट गुमायो।

लुम्बिनीका बलर अविशेक गौतम र कप्तान विशाल विक्रम केसीले ३/३ विकेट लिए। नर सार्की, दुर्गेश गुप्ता, निर्मल गुरुङ र तुल बहादुर थापाले १/१ विकेट लिए। मधेशका ओपनर मायान यादवले सर्वाधिक ३८, सरफराज मन्सुरीले ३१ तथा अलि अन्सारीले २२ रन बनाए।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस हारेर ब्याटिंग गरेको लुम्बिनीले ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २२२ रन बनायो। उसको लागि प्रज्वल थापाले सर्वाधिक ८५ रन योगदान दिए जुन क्रममा उनले १२८ बल सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे। नर सार्कीले अविजित २६ तथा आकाश त्रिपाठीले २३ रन बनाए। मधेशले अतिरिक्तको रुपमा ३४ रन खर्चियो।

मधेशका बलर निकेश गुप्ताले ३ तथा नितेश यादव र अविशेक तिवारीले २/२ विकेट लिए। अब्जित मण्डलले १ विकेट लिए।

प्रदेश-१ विजयी 

मुलपानी मैदानमा सम्पन्न खेलमा कर्णालीले दिएको १५३ रनको लक्ष्य प्रदेश-१ ले ३ विकेट गुमाएर ३१.३ ओभरमै भेटायो।

प्रदेश-१ का ओपनर सोनु अन्सारीले ४५, भुपाल दंगालले अविजित ४२  तथा कप्तान दिपेश कंडेलले अविजित २९ रन बनाए। चौंथो विकेटको लागि दंगाल र कंडेलले अविजित ५७ रनको साझेदारी गरे।

टस जितेर ब्याटिंग गरेको कर्णालीले ४३.२ ओभरमा १५२ रन बनाउदा सबै विकेट गुमायो। उसको लागि सुवास ऐरले सर्वाधिक ४७ रन, मोहन बिकले २९ तथा मानिस थापाले २६ रन बनाए।

प्रदेश-१ का बलर दिपेश कंडेल र अनिश ओझाले ३/३ विकेट लिए। अभिनय राजवंशी, बिपिन महतो, अस्विन महतो र संदेश भट्टराईले १/१ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy