विश्वकप छनोटमा नेपालको सानदार सुरूवात

२०७९ फाल्गुन १२, शुक्रबार २१:४७

काठमाडौँ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।

युएईमा शुक्रबादेखि सुरु भएको छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको हो।

नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले ५० ओभरमा ७ विकेटको क्षतिमा १६५ रन जोड्यो।

सिंगापुरका लागि आर्यन मोदीले सर्वाधिक ५८ रन जोडे भने सिद्धान्त श्रीकान्तले ४४ रन बटुले।

बलिङमा नेपालका हेमन्त धामी र सुवास भण्डारीले २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतक प्रहार गरे। नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन जोड्यो।

आकाशले ७८ रन जोडे। उनले ७ चौका र १ छक्का प्रहार गरे। विशालले ५४ बलमा ६३ रनको योगदान दिए।

त्यसअघि ओपनरद्वय दीपक बोहराले ‘ए’ ले ५ रन र अर्जुन कुमालले ३७ रन जोडे। कप्तान देव खनाल २१ रन जोडेर आउट भए। दीपक बोहरा ‘बी’ ले १७ रन र दीपक डुर्मेले १० रन बनाए। सुवास भण्डारीले नटआउट १२ रन जोडेका थिए।

नेपालले फागुन १३ गते कुवेतविरुद्ध खेल्नेछ भने फागुन १५ गते हङकङसँग खेल्नेछ। फागुन १६ गते मलेसियासँग चौथो खेल खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ।

छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।

२ मार्चसम्म हुने प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy