काठमाडौं । मलेसियामा शनिबारबाट एसीसी प्रिमियर कप आयोजना हुदैछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले शनिबार हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको खेल क्वालालप्पुरमा रहेको सेलन्गर ट्रफमा नेपाली समय अनुसार बिहान सवा सातमा सुरु हुनेछ ।
टी-ट्वान्टी आई मा भएको पछिल्लो पाँच भेटमा नेपाल र हङकङ समान दुई दुई खेलमा विजयी हुँदा एक खेल भने वर्षाका कारण रद्द भएको थियाे । नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीको बिदाई गरेको थियो । क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यिय नेपाली टोलीको घोषणा गरेको थियो ।
प्रतियोगितामा १६ राष्ट्रको सहभागीता रहनेछ । सहभागी १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा हङकङ, भुटान र माल्दिभ्स रहेका छन् ।
दोस्रो खेलमा ११ फेब्रुअरीमा भुटानको सामना गर्ने नेपालले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् ।
नेपाली टोली
ईन्दु बर्मा(कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता रानामगर, काजोल श्रेष्ठ, पूजा महतो, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डलि भट्ट, अस्मिना कर्माचार्य
