नेपालसँग खेल्नु अघि दक्षिण अफ्रिकाको लगातार तेस्रो हार

२०८१ जेष्ठ १४, सोमबार ०८:२९

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिका लगातार तेस्रो खेलमा पनि पराजित भएको छ ।

घरेलु टोली वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० आई सिरिजको अन्तिम खेलमा पाहुना टोली दक्षिण अफ्रिका ८ विकेटले पराजित भयो । यो हारसँगै वेस्ट इन्डिजले तीन खेलको टी-२० आई सिरिजमा क्लिन स्विप गरेको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६४ रनको लक्ष्य वेस्ट इन्डिजले १३ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

वेस्ट इन्डिजका लागि ओपनर जोनसन चाल्सले २६ बलमा ९ चौका र ५ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर तथा कप्तान ब्रान्डन किंगले २८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४४ रन बनाए । कायल मेयर्सले २३ बलमा अविजित ३६ तथा एलिक अथानेजले ७ बलमा अविजित ६ रन बनाए ।

पाहुना टोलीका लागि जेरार्ड कोट्जे र पिटरले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान रासि भान डर डुसनले ३१ बलमा१ चौका र ५ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । विएन मुल्दारले २८ बलमा ३६ तथा क्विटन डि ककले १८ बलमा १९ रन बनाए ।

वेस्ट इन्डिजका लागि ओबेद म्याकोईले ३ तथा गुणकेश मोटी र शोमार जोसेफले समान २/२ विकेट लिए ।

पहिलो खेल दक्षिण अफ्रिकाले २७ रन तथा दोस्रो खेल १६ रनले गुमाएको थियो । पराजित दक्षिण अफ्रिका आउँदो टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र दक्षिण अफ्रिकाबीचको खेल जुन १५ मा हुँदैछ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy