काठमाडौं । भारतले वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको १९ औं खेलमा पाकिस्तानलाई पराजित गरेको छ ।
अमेरिकाको न्युयोर्कमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो ।
भारतले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १३ रन मात्र बनायो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले ३१ तथा इमाद वासिमले १५ रन बनाए ।
भारतका लागि जसप्रित बुमराहले तीन तथा हार्दिक पान्ड्याले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ औं ओभरको अन्तिम बलमा अल आउट हुदै १ सय १९ रन बनाएको थियो ।
भारतका लागि रिषभ पन्तले ३१ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४२ रन बनाए । अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाए । भारतका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका लागि हरिस रउफ र नशिम शाहले समान तीन तीन तथा मोहम्मद आमिरले दुई विकेट लिए ।
लगातार दोस्रो हारका साथ पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना कठिन बनेको छ । पाकिस्तान पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । दुई खेलमा लगातार जित हात पारेको भारत चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । भारतले पहिलो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो ।