यू–१६ विजेता खेलाडीहरु एसपीएद्वारा सम्मानित

२०८० असार २५, सोमबार १०:२०

अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरुलाई एसपीए कलेजले सम्मान गरेको छ। नेपाली टोलीमा रहेका सुदूरपश्चिमका तीन जना खेलाडी विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार सम्मान गरेको हो।

घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रोपटक यू–१६ इस्ट जोनको उपाधि जितेको थियो। कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको समेत कप्तान हुन्। उनी एसपीए कलेजमा कक्षा १२ मा अध्ययनरत् छन्। यस्तै फाइनलमा प्रतियोगितामा शतक प्रहार गर्नु भएका ओपनर ब्याटर नरेन भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन। अशोक धामी बझाङका हुन्।

तीनै जनालाई एसपीएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ। यस्तै एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाइएको छ। क्याम्पस प्रमुख योगराज उपाध्यायले देशकै नाम उचो पारेका खेलाडीहरुलाई सम्मान गर्न पाउँदा उत्साहित भएको बताए।

उनले एसपीए कलेजमा ८ जना क्रिकेटका मात्रै अन्तर्राष्ट्रिय खेलाडीहरु अध्ययन गरिरहेको बताए। अहिले नेपाली राष्ट्रिय सिनियर टोलीका लोकेश बम, यू–१९ टोलीका नारायण जोशी, बसन्त कार्की, सिनियर महिला राष्ट्रिय टोलीका कविता कुँवर, इश्वरी विष्ट, यू–१९ महिलातर्फ राष्ट्रिय टोलीका लक्ष्मी साउद, यशोदा विष्ट, सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्याय खेलाडी एसपीएमा अध्ययनरत् छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy