भारतद्वारा नेपाललाई २९८ रनको लक्ष्य

२०८० माघ १९, शुक्रबार १७:४१

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को आफ्नो दोस्रो सुपर सिक्स खेलमा नेपालले २ सय ९८ रनको लक्ष्य पाएको छ ।

दक्षिण अफ्रिकामा जारी खेलमा नेपालले २ सय ९८ रनको लक्ष्य पाएको हो । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनायो ।

भारतका लागि सचिन दास र कप्तान उदय सराहनले शतकीय ईनिङ खेले । उनले १ सय १ बलमा ११ चौका र ३ छक्काको सहयोगमा १ सय १६ रन बनाए । दासले ९३ बलमा १० चौका र २ छक्काको सहयोगमा शतक बनाएका थिए । कप्तान सराहनले १ सय ६ बलमा ९ चौकाको सहयोगमा शतक पूरा गरेका थिए । शतक बनाएको अर्को बलमा उनी आउट भए ।

भारतका लागि ६२ रनमा ३ विकेट गुमाएको स्थितिमा चौथो विकेटका लागि कप्तान उदय साहरन र दासले २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गरे ।

ओपनर आदर्श सिंहले १८ बलमा २१ तथा प्रियान्शु मोलियाले ३६ बलमा १९ रन बनाए ।

नेपालका लागि गुलसन झाले तीन तथा आकाश चन्दले एक विकेट लिए ।

नेपालले बंगलादेशसँगको पहिलो सुपर सिक्स खेलमा रहेका तीन खेलाडीलाई आज विश्राम दिइएको छ । दिपक बोहारा, विपिन रावल र आकाश त्रिपाटी बेन्चमा रहेका छन् । उत्तम थापा मगर, दिपक डुम्रे र दिपक बोहोराले टोलीमा स्थान बनाएका छन् ।

नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ ।

नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । दक्षिण अफ्रिकामा नेपालको ब्याटिङ चल्न सकेको छैन ।

विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुबै खेलमा नेपालले हारेको छ ।

नेपालले आफ्नो इतिहासमा भारतलाई एक पटक मात्रै हराएको छ । नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy