बर्माको उत्कृष्ट ब्याटिङमा नेपालको विजयी सुरुआत, पहिलो खेलमा हङकङमाथि सहज जित

२०८० माघ २७, शनिबार १०:०६

काठमाडौं । मलेसियामा आजबाट सुरु एसीसी प्रिमियर कप मा नेपालले विजयी सुरुआत गरेको छ ।

आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गर्यो ।

हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान ईन्दु बर्माले ३३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४० रन बनाईन् । सिता राना मगरले ३८ बलमा अविजित ३६ रन बनाईन् । बर्मा र सिताले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । ओपनरको रुपमा मैदान प्रवेश गरेकी कविता कुँवर १२ बलमा ४ रन बनाउँदै आउट भईन् ।

सिताले चौका प्रहार गर्दै खेल सकाएकी थिईन् ।

हङकङका लागि इक्रा सहर र चान बेट्टीले समान एक एक विकेट लिएका थिईन् ।

त्यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको सेलन्गर ट्रफमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनायो ।

हङकङका लागि कप्तान चेन क्यारीले ३१ बलमा २१ तथा मायाम बिबिले २० बलमा १९ रन बनाए ।

नेपालका लागि पूजा महतो र रुबिना क्षेत्रीले समान दुई दुई तथा कविता जोशी र रुबिना क्षेत्रीले समान एक एक विकेट लिए ।

सहभागी १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा हङकङ, भुटान र माल्दिभ्स रहेका छन् ।

दोस्रो खेलमा ११ फेब्रुअरीमा भुटानको सामना गर्ने नेपालले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy